एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिप : नेपालको विजयी शुरुवात, भुटान ५० रनले पराजित
काठमाडौं - नेपालले आज (शुक्रबार) एसीसी महिला ट्वान्टी-२० च्याम्पियनसिपमा भुटानलाई ५० रनले पराजित गरेको छ । योसँगै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको छ । मलेसियाको बांगीस्थित यूएसडी-यूकेएम ओभलमा कप्तान रुबिना क्षेत्रीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिइन् ।
त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएकी थिइन् । ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७.५ ओभरमा ४४ रन बनाउँदा सबै विकेट गुमाएको थियो । पहिले ब्याटिङ गरेको नेपालका लागि विकेटकिपर काजल श्रेष्ठले सबैभन्दा धेरै २६ रन बनाए । कप्तान रुबिना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन बनाइन् ।
काजलले दुई ठूला महत्वपूर्ण साझेदारी पनि गरिन् । काजलले इन्दुसँग चौथो विकेटका लागि ३२ रनको साझेदारी गरिन् । त्यसपछि काजल र कप्तान रुविनासँग पनि पाँचौं विकेटका लागि पनि समान ३२ रनको साझेदारी गरिन् । नेपालका डली भट्टले ५, सीता रानामगरले ४, ममता चौधरीले ३ र बिन्दु रावलले एक रन बनाए । कविता कुँवर पनि एक रनमा अविजित रहिन् । ज्योति पाण्डे र अस्मिना कर्माचार्यले रनको खाता खोल्न सकेनन् ।
भुटानकी सोनाम पाल्देनले ४ ओभरमा एक मेडनसहित १३ रन दिएर ४ विकेट लिइन् । अञ्जु गुरुङ र टासी चेकीले एक-एक विकेट लिएका थिए । नेपालकी संगीताले २.५ ओभरमा ६ रन दिएर ४ विकेट लिएपछि भुटानका खेलाडीले खुलेर खेल्न सकेनन् ।
भुटानका लागि छिरिङ ज्याङ्मोले सबैभन्दा धेरै १६ रन बनाइन् । नवाङ चोदेनले ८, सोनाम चोदेनले ५ र पेमा सेल्देनले ४ रन बनाइन् । अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । संगीता बाहेक नेपालका कविता कुँवर र सीताले समान दुई विकेट लिए । अस्मिना कर्माचार्य र इन्दु बर्माको नाममा एक-एक विकेट रह्यो ।