Nic Ad Nic Ad
Nic Ad Nic Ad

मंकीपक्सको आशंकामा निगरानीमा रहेका युवकमा कुष्ठरोग पुष्टि

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - मंकीपक्सको आशंकामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ । मंकीपक्सको आशंकामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले जानकारी दिइन् ।

आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी छिन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन। अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र एक हजारभन्दा बढी संक्रमित भएका छन् ।

दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशंकामा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।

चिकित्सकहरूका अनुसार मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निने जस्ता समस्या देखिन सक्छन् । मंकीपक्स भएको ३-४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्नेसक्ने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् ।

मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफै हराएर जानसक्ने भएकाले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्