६ करोड बढी अवैध सम्पत्ति आर्जनको आरोपमा पूर्व नासुविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा ६ करोड २४ लाख बढी सम्पत्ति आर्जनको आरोपमा पूर्व नायब सुब्बा (नासु) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
भण्डारीविरुद्ध ६ करोड २४ लाख चार हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगमा प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । आयोगले उजुरीका आधारमा अनुसन्धान गर्दा भण्डारीले सार्वजनिक पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो ।
आयोगले उनको सेवा अवधि गणना गर्दा २६ लाख ६१ हजार ६ सय ३६ रुपैँया ९ पैसा मात्र आर्जन भएको देखिन आएको र गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख गरेको छ । उनी हाल विध ल्याबका सञ्चालक समेत हुन् ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज भीमकान्त भण्डारी मिति २०७३ असोज २१ मा नासु पदबाट सार्वजनिक सेवा प्रवेश गरेका उनले २०७७ साउन १ मा राजीनामा दिएर सरकारी सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेश गरेको ४ वर्षमै उनले जोडेको सम्पत्ति तथा जीवनयापन अस्वभाविक देखिएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
अस्वभाविक रुपमा राजीनामा दिएपछि उनीविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा उजुरी परेको थियो । त्यसपछिको अनुसन्धानका अख्तियारले भण्डारी सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्मको सम्पत्ति माथि अनुसन्धान गरेको थियो ।
‘भण्डारीको २०७८ पुस मसान्तसम्मको सम्पत्तिको आय व्यय गणना गर्दा सेवामा रहँदा पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी संचय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेश पूर्व जाँच अवधिको बचत गरी २६ लाख ६१ हजार ६ सय ३६ रुपैयाँ देखिन्छ र निजको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक तथा हाइड्रोपावर कम्पनीहरूको शेयर खरिद र विभिन्न बैंकमा रहेको मौज्दात समेत गरी जम्मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ देखियो,’ अख्तियारका प्रवक्ता भण्डारीले भने ।