बलियो नेपाल कप अण्डर-१५ क्रिकेटको सेमिफाइनल समीकरण पूरा
काठमाडौँ - बलियो नेपाल कप अण्डर- १५ क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा बलियो प्रदेश-१, बलियो लुम्बिनी प्रदेश, बलियो मधेश प्रदेश र बलियो बागमती प्रदेशले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेका छन् ।
समूह चरणको अन्तिम खेलमा बलियो लुम्बिनीलाई ५ विकेटले हराउँदै बलियो प्रदेश-१ समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । शुक्रवार मुलपानी मैदानमा भएको दिनको पहिलो खेलमा बलियो प्रदेश-१ ले बलियो लुम्बिनी प्रदेशका बिरुद्ध रोमाञ्चक जित दर्ता गर्यो । ओसिलो मैदानका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेर ब्याटिंग गर्दै बलियो लुम्बिनी प्रदेशले ७ विकेटको क्षतिमा १०९ रन जोडेको थियो । उसका सन्तोष साउदले सर्वाधिक ३८ तथा रौनक श्रीवास्तवले १४ रनको योगदान गरे । बलियो प्रदेश-१ का रुशल रिमालले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट आफ्नो नाम गरे ।
जवाफमा ११० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो प्रदेश-१ ले एक बल बाँकी रहंदा ५ विकेट गुमाउंदै लक्ष्य पुरा गर्यो । बलियो प्रदेश-१ लाई अन्तिम दुई बलमा ३ रन आवश्यक रहँदा बाई स्वरुप ४ रन प्राप्त गरेपछि बलियो प्रदेश - को जित सम्भव बनेको थियो । बलियो प्रदेश-१ को जितमा आलोक मण्डलले ३७ रन तथा रबिन मण्डलले २४ रनको योगदान गरे ।
बलियो लुम्बिनी प्रदेशका आयुष ओलीले ३ विकेट हात पारे पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।
खेलको प्लेयर अफ दि म्याच बलियो प्रदेश-१ का आलोक मण्डल भए। दिनको दोस्रो खेलमा बलियो मधेश प्रदेशले बलियो ११ लाई ४६ रनले पराजित गर्दै समूह ‘बि’ को बिजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बलियो मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन जोडेको थियो। उसका राहुल कुमार महतोले सर्वाधिक ६२ रनको योगदान गरे । यस्तै बिशाल यादव व्यक्तिगत २० रन बनाएका थिए । बलियो ११ को बलिङ्गमा जेनिश पुन मगर र प्रतिक पण्डितले समान २-२ विकेट हात पारे ।
जवाफमा १३२ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको बलियो ११ ले १८.५ ओभरमा सबै विकेट गुमाउन अघि ८५ रन मात्र जोड्न सक्यो । उसका ओपनर ईजाज उल हक ले अविजित ४० तथा कप्तान स्मिथ बुढाले १५ रन जोड्न बाहेक अन्य ब्याट्स्मेनले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलियो ११ लाई सस्तैमा समेट्न बलियो मधेश प्रदेशका साइमन रोए र रोहन शाहले समान २(२ विकेट हात पारे । खेलको प्लेयर अफ दि म्याच राहुल कुमार महतो घोषित भए । शनिवार हुने पहिलो सेमिफाइनलको खेलमा बलियो प्रदेश-१ र बलियो बागमती प्रदेश तथा दोस्रो सेमिफाइनल खेलमा बलियो मधेश प्रदेश र बलियो गण्डकी प्रदेश भिड्ने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:११
प्रतिक्रिया दिनुहोस्