चलचित्रको कास्टिङ कुटनीति
काठमाडौँ– चलचित्रको मेरुदण्ड ‘स्क्रिप्ट’ हो । ‘स्क्रिप्ट’ले नै पात्रको निर्धारण अर्थात कुन चरित्रमा कुन पात्र उपयुक्त हुन्छ भन्ने निक्र्याेल गर्छ । हुनलाई चलचित्र, अभिनय अर्थात कृत्रिम पात्रको प्रस्तुती भएपनि पात्र छनोट एक महत्पूर्ण कुरा हो ।
एक समय थियो अधिकांश नेपाली चलचित्रमा कलाकारको छनोटको अधिकार निर्देशकलाई नै हुन्थ्यो । नाम चलेका कलाकारलाई फिल्ममा लिँदा फिल्मले व्यावसायिक सफलता पाउनेमा निर्माता तथा निर्देशक ढुक्क हुन्थे । निर्माण र निर्देशनमा लोकप्रियता कमाएका निर्माता तथा निर्देशकसँग काम गर्न पाउँदा कलाकार पनि दङ्ग पर्ने नै भए । त्यसबखत हाम्रो जस्तो सानो ‘फिल्म नगरी’ मा धेरै कलाकार अर्थात पात्रको छनोट गर्ने गरिको विकल्पको सुविधा पनि निर्देशकलाई कमै थियो ।
तर, अहिले अवस्था फेरिएको छ । कुनै समय निर्देशकको काँधमा रहेको कलाकार छान्ने काम अहिले ‘कास्टिङ डिरेक्टर’को काँधमा सरेको छ । नेपाली चलचित्रमा नयाँ पुस्ताको प्रवेशसँगै ‘कास्टिङ डिरेक्टर’को अवधारणा पनि बलियो बन्दै गएको छ ।
नेपालमा ‘कास्टिङ डिरेक्टर’को अवधारणा सुरु गर्ने श्रेय चलचित्र ‘नुमाफुङ’लाई जान्छ । नवीन सुब्बाको निर्देशनमा बनेर सन् २००४ मा रिलिज भएको यो चलचित्रमा अनुप बरालले ‘कास्टिङ डिरेक्सन’को काम सुरुवात गरेका थिए ।
‘कास्टिङ डिइरेक्टरले कथा अनुरुपको कुन पात्र र कलाकार सुहाउँछ त्यसको छनोट गरेर निर्देशकको अगाडि उभ्याइदिने काम गर्छन् । छानिएको कलाकारलाई फिल्ममा राख्ने या नराख्ने भन्ने अधिकार निर्देशकको हातमा हुन्छ’, अनुप भन्छन्, ‘निर्देशकसँग बसेर पात्रहरु छान्नका लागि यो व्यक्तिले यो चरित्रलाई ठीकसँग निर्वाह गर्न सक्छ भनेर छानिदिने काम नै कास्टिङ डिरेक्टरले गर्छ । त्यो छनोट कलाकारको अडिसनबाट हुन्छ ।’
अनुपको बुझाई र अनुभवमा नेपालका नाम चलेका कलाकारले अडिसन दिन अप्ठ्यारो मान्ने गरेकाले निर्देशकको ध्यान नयाँ कलाकारकै कास्टिङमा जाने गरेको छ । ‘कास्टिङ भनेको राम्रो अभिनय गर्ने वा नगर्ने भन्ने होइन । त्यो पात्रको लुक्स, आवाज, चरित्र आदिसँग मिल्छ कि मिल्दैन भन्ने हो । तर हाम्रोमा बुझाई अलिक फरक छ’, अनुपले अनुभव सुनाए ।
अनुपले ‘नुमाफुङ’, ‘मुकुण्डो’ र रिलिज हुन लागेको फिल्म ‘प्रकाश’सहित करिब १० फिल्ममा कास्टिङ डिरेक्टरका रुपमा काम गरिसकेका छन् ।
नेपाली चलचित्रमा कथा राम्रो भए पनि सुहाउँदो चरित्र नभएको आरोप लाग्ने गरेको छ । एक हिसाबले यो सत्य पनि हो किनकी केही फिल्म हेर्ने हो भने ती फिल्ममा बाबु आमा र उनीहरुका सन्तान फरक समुदायका देखिन्छन् । अझ कतिपय चलचित्रमा त उस्तै उमेरका कलाकारलाई बाबु छोरा, आमा छोरी, वा बाबु छोरी, आमा छोराका रुपमा देखाइएको हुन्छ । जसकारण चलचित्र अमिल्दो र असुहाउँदो देखिन्छ ।
चलचित्र लेखक सामिप्यराज तिमल्सिना विदेशी चलचित्रमा ‘अडिसन’ र ‘कास्टिङ’ प्रभावकारी देखिए पनि नेपालको हकमा त्यस्तो नदेखिएको बताउँछन् । ‘नेपालमा धेरैजसो ‘कास्टिङ डिरेक्टर’ नाम मात्रको हुन्छ । यहाँ कुन स्टार र कसलाई लिँदा फाइदा हुन्छ भन्ने हिसाबले मात्र कलाकार छान्ने चलन छ’, उनी भन्छन्, ‘निर्माता र निर्देशकको ध्यान चरित्रमा कसलाई सुहाउँछ वा जिवन्त अभिनय हुन्छ भन्ने भन्दा पनि को लिँदा फाइदा हुन्छ भन्ने मै हुन्छ ।’
‘विरानो माया’, ‘अधकट्टी’, ‘हैरान’, ‘लभ यु बाबा’ जस्ता चलचित्रमा ‘कास्टिङ डिरेक्टर’को अनुभव संगालेका चलचित्र पत्रकार शान्तिप्रिय नेपालमा ‘कास्टिङ’ को काम प्रभावकारी हुन नसकेको स्वीकार्छन् । ‘नेपालमा कलाकारले निर्माता तथा निर्देशकसँगको समझदारीमा काम गर्नुपर्ने हुन्छ । यहाँ ‘कास्टिङ डिरेक्टर’ले एकल निर्णय गर्ने सम्भावना कम छ’, उनी भन्छन् । पछिल्लो समयमा आएका नयाँ निर्देशकहरुले ‘कास्टिङ डिरेक्टर’को अवधारणालाई अगाडि बढाइरहेको उनको बुझाई छ ।
एकताका निर्देशक शोभित बस्नेत फिल्म निर्देशनको ‘कम्प्यूटर’का रुपमा चिनिन्थे । अर्थात् उनको निर्देशन यात्रा दु्रत गतिको थियो । शोभितका अनुसार आफ्नो समयमा निर्देशकले नै कलाकार छनोट गर्थे । ‘त्यो बेला कास्टिङ डिरेक्टर भन्ने हुँदैन थियो । कथा अनुसार नै निर्देशकले कलाकार छनोट गर्थे’, उनी भन्छन् । उनको बुझाईमा ‘कास्टिङ डिरेक्सन’को काम प्रभावकारी छ ।
चलचित्र भनेको कुनै काल्पनिक वा सत्य घटना को जिवन्त प्रस्तुती हो । यसमा कलाकारले यो काल्पनिक वा अर्को चरित्रले निर्वाह गरिरहेको कुरा नभएर साँच्चैको भोगाई हो भन्ने छाप दर्शकलाई छोड्न सक्नुपर्दछ । समय अवधिभरि दर्शकलाई संगै डोहोर्याउनु, अभिनयले हँसाउनु वा रुवाउनु अर्थात छाप पार्नु मूख्य अभिष्ट चलचित्रको हुन्छ नै । त्यसका लागि ‘कास्टिङ’ एउटा महत्वपूर्ण र संवेदनशिल विषयका रुपमा रहन्छ नै ।