Nic Ad Nic Ad
Nic Ad Nic Ad

चौंथो ‘गुरिल्ला अल्ट्रा म्याराथन’ को उपाधि जुम्लाका मञ्जु र दलबहादुरलाई

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– चौथौ संस्करणको ‘गुरिल्ला अल्ट्रा म्याराथन’ को उपाधि कर्णाली स्पोर्टस जुम्लाका दलबहादुर कुँवरले जितेका छन्।

शुक्रबार सम्पन्न ६२ किलोमिटर लामो गुरिल्ला अल्ट्रा म्याराथन उनले ५ घण्टा ५३ मिनेट २ सेकेण्डमा पूरा गर्दै उपाधि रक्षा गरेका हुन्।

त्यस्तै, रूकुम (पूर्व) भूमे– २, खावाङका हिमाल बुढा मगर दोस्रो भए। मगरले निर्धारित दूरी ६ घण्टा २१ मिनेट ६ सेकेण्डमा पुरा गरे।

यस्तै रूकुम पश्चिमका दुर्गाबहादुर बुढाले निर्धारित दूरी ६ घण्टा ३० मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तेस्रो भए।

यसअघि गत चैत २६ गते जुल्मा अल्ट्रा म्याराथनमा दोस्रो भएका कुँवरले यस पटक बाजी मारे।

विजेता कुँवरले ट्रयाक निकै कठिन भए पनि रोमाञ्चक रहेकाले आगामी दिनमा हुने अन्य म्याराथन प्रतियोगितामा निरन्तर सहभागिता जनाउने बताए।

त्यस्तै महिलातर्फको उपाधि कर्णाली स्पोर्टस क्लब जुम्लाकै मन्जु रावतले जितिन्।

उनले ६२ किमीको दुरी ६ घण्टा ५६ मिनेट ३६ सेकेन्डमा पार गरेकी थिईन्। सोलुखुम्बुकी अनिता राईले ८ घण्टा ३१ मिनेट ४० सकेन्डमा दुरी पार गर्दै दोस्रो हुँदा ८ घण्टा ३२ मिनेट १ सेकेन्डमा दुरी पार गर्दै रोल्पाकी आस्मति विक तेस्रो भइन्। यस्तै भोजपुरकी अनिता राईले निर्धारित दुरी ८ घण्टा ५८ मिनेट २० सेकेन्डमा पार गर्दै चौथो भईन्।

६२ किलोमिटर म्याराथनको रूट महतगाउँ - लाबाङ – छोर्वाङ – गल्च्योल – तिल्घा – ढङ्नै – जलजला –थबाङ – पोर्पोछेडा – मारिङ – ठूलोलेक हुँदै महत पुगेर टुंगिएको थियो।

'चौथो गुरिल्ला अल्ट्रा म्यारथन २०७९' को संस्करणमा जुम्ला, भोजपुर, सोलुखुम्बु, ताप्लेजुङ, रोल्पा, रुकुम पश्चिम र पूर्व लगायत जिल्लाका ९९ जनाले भाग लिएका थिए। जसमध्ये महिला १९ र पुरूष ८० जना सहभागी भएको आयोजकले जनाएको छ।

रूकुम पूर्वमा प्रत्येक वर्ष आयोजना हुने गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता भूमे गाउँपालिकाले प्रवर्धन गर्दै आएको र भूमे युवा विकास केन्द्रले आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्