बलियो नेपाल क्रिकेटको उपाधि मधेश प्रदेशलाई
काठमाडौँ– बलियो नेपाल क्रिकेट प्रतियोगिता २०७९ को उपाधि बलियो मधेश प्रदेशले जितेको छ । आइतवार सम्पन्न फाइनलमा बलियो बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै बलियो मधेशले उपाधि हात पारेको हो ।
मूलपानी मैदानमा भएको फाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको बलियो बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । उसका आकाश टमाटाले २३ रन बनाए ।
बलियो मधेसका साईमन रोएले ४ ओभरमा १० रन खर्चिएर २ विकेट हात पारे ।
९६ रनको लक्ष्य बलियो मधेशले १५ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । मधेशको जितमा प्लेयर अफ दि म्याच रञ्जन यादवले ३४ रन बनाए । बलियो बागमतीका कप्तान युवराज खत्रीले ३ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् ।
प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बलियो मधेश प्रदेशका साईमन रोए भए । बलियो ११ का जेनिश मगर, कमल शाही र बलियो बागमती प्रदेशका युवराज खत्री प्रतियोगिताको इमर्जिंग खेलाडी घोषित भए ।
बिजेता र उपविजेता टोलीलाई सभासद अमनलाल मोदी, राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का , ज्ञानेन्द्र मल्ल र बलियो नेपाल न्युट्रिसन इनिसिएटिभका प्रमुख कार्यकारी डा. अतुल उपाध्यायले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:३६
प्रतिक्रिया दिनुहोस्