एन्फाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै, कर्मा र पंकजबीच मूख्य प्रतिस्पर्धा
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले दोहोरिने चाहना राख्दै फेरि उम्मेदवारी घोषणा गरेका छन् भने नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव पौडेल पनि चुनावी प्रतिस्पर्धामा छन् । मुख्य रुपमा शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा छ ।
दुवै जना प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।
एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।
१३ सदस्यीय खुल्ला केन्द्रिय सदस्यमा अनिल श्रेष्ठ, भरतबुढथापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, बिनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा छन् । दुई जना महिला सदस्यमा शेर्पा प्यानलबाट पेमा डोल्मा लामा र बिना क्षेष्ठ छन् ।
एन्फाको निर्वाचन प्रक्रियामा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी छन् । जम्मा ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका छन् ।
जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हाल्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:३६
प्रतिक्रिया दिनुहोस्