काठमाडौंमा बंगलादेशी फेसनको स्वाद
काठमाडौं—काठमाडौंको प्रदर्शनीमार्गस्थित प्रदर्शनी कक्षमा सञ्चालन भएको नेपाल चेम्बर एक्स्पो २०२२ अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयामलाई प्रस्तुत गरियो । हालै गरिएको फेशन शोमा बंगलादेशी फेसनअन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमूनाहरु र्याम्पमा देखाइएको थियो ।
सात चरणमा प्रस्तुत गरिएको उक्त फेसन प्रस्तुतिमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरिएको थियो । सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो ।
काठमाडौंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने मोडलहरुको मेकअप तथा हेयरस्टालिङ ब्युटी गार्डेन, द ग्रुमिङ स्टेसनले गरेको थियो ।
बंगलादेश फेसन शो अन्तर्गत प्रस्तुत भएका फेसनशैलीहरु मध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरु थिए भने केही भने रेडी टू वेयर शैलीहरु थिए । आठ जना युवती तथा चार जना युवा मोडलको उक्त फेसन शो प्रस्तुतिलाई पूर्व मिस नेपाल सुगरिका के.सी.ले संचालन गरेकी थिइन् । कार्यक्रममा नेपालका लागि
बंगालादेशी राजदूत सलाउद्दीन नोमान चौधरीलगायत बंगालादेशी राजदूतावास तथा नेपाल चेम्बर अफ कमर्सका व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्