सिड्नीमा पुजा र पलको म यस्तो गीत गाउँछु २
काठमाडौं–नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ उल्लेख्य रुपमा नेपालीहरुको बसोबास रहेको अष्ट्रेलियाको सिड्नीमा रिलीज हुने भएको छ । आगामी जुलाई ९ तारिखको दिन सिभिक थियटरमा यो फिल्म प्रदर्शन हुने अन्तर्राष्ट्रियस्तरमा नेपाली फिल्म वितरण गर्दै आएको कम्पनी नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले बताए ।
नेपसिनेले नेपाल, हङकङ र युके बाहेकका अन्य देशमा यो चलचित्रको प्रदर्शन अधिकार लिएको छ । सिड्नीमा हुने प्रदर्शनमा नेपसिनेले अष्ट्रेलियास्थित इभेन्ट म्यानेजमेन्ट कम्पनी कलर्स अफ नेपालसँग सहकार्य गरेको हो । उक्त प्रदर्शनमा अभिनेत्री पुजा शर्मा र निर्देशक सुदर्शन थापाका साथै वितरक कार्की पनि सहभागी हुने कलर्स अफ नेपालका बिक्रम पौडेलले बताए ।
यो फिल्मको सहकार्यसँगै नेपसिने र कलर्स अफ नेपालबीच अष्ट्रेलियामा अन्य विभिन्न कार्यक्रमहरु एकसाथ गर्ने सहमति भएको पनि पौडेलले जनाए । सिड्नी प्रदर्शन अगावै यो फिल्मको अष्ट्रेलियाको मेलवर्नमा जुलाई ५ तारिखको दिन प्रदर्शन हुनेछ ।
नेपालमा गत फागुन १३ गते रिलीज भएको यो फिल्मले व्यापारिक सफलता हासिल गरेको थियो । फिल्मलाई कुनै पनि देशमा प्रदर्शन गर्नु परेमा नेपसिने र फिल्मको निर्माण टिमसँग सम्पर्क गर्न सकिने कार्कीको भनाई छ ।
सांगीतिक लभ स्टोरी कथामा बनेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी लगायतको मुख्य भूमिका रहेको छ । सुदर्शन थापा चलचित्रका निर्माता तथा निर्देशक हुन् । जन्म जय साम्पाङ राई सह निर्माता रहेको यस चलचित्रमा अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा बनिश शाह र मिलन श्रेष्ठको सम्पादन छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०९:१६
प्रतिक्रिया दिनुहोस्