बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने तयारी
सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले पहिलो चरणमा यहाँको कैलाली, कञ्चनपुर र डडेल्धुरामा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाइने बताए । “कोरोना विरुद्धको खोप बालबालिकालाई लगाउने राष्ट्रिय कार्यक्रमअनरूप पहिलो चरणमा तीन जिल्लाका पाँच वर्षदेखि माथि १२ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी छ”, जनस्वास्थ्य निरीक्षक जोशीले भने, “दोस्रो चरणमा बाँकी छ जिल्लामा साउन महिनाले उक्त खोप लगाइनेछ ।” उहाँले केन्द्रमा खोप आएपछि जिल्लामा पठाएर स्कूलमा गएर उक्त खोप लगाउने तयारी रहेको बताउनुभयो । ८७ प्रतिशतले लगाए खोप त्यसैगरी कञ्चनपुरमा कोरोना विरुद्धको खोप ८६.२ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप इन्चार्ज जनक कुवँरले यहाँ दोस्रो मात्रा गरेर ८७ प्रतिशतभन्दा बढी स्थानीयवासीले कोरोना विरुद्धको खोप लगाइसकेको बताए । “कोरोना विरुद्धको पहिलो मात्रा ७८ प्रतिशतले लगाएका छन् ।” कुवँरले भने, “बुष्टर डोज यहाँ ३६ प्रतिशतले लगाएको तथ्याङ्क छ ।” उनले खोप प्रगतिमा सुदूरपश्चिमका नौ जिल्लामध्ये कञ्चनपुर पहिलो नम्बरमा रहेको बताए । कोरोनाको सङ्क्रमण न्यून रहे पनि यहाँको गड्डाचौकी नाकामा भने स्वास्थ्य कार्यालयले नियमित कोरोना परीक्षण र सावधानीबारे सचेतना फैलाइरहेको छ । केही दिनअघि यहाँ तीनमा कोरोना सङ्क्रमण देखिएको थियो । भारतको राजधानी नयाँ दिल्लामा सङ्क्रमण बढिरहेका बेला दूरीका हिसाबले नजिक पर्ने गड्डचौकीमा सतर्कता अपनाइने स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्