मोबाइलको आयात घट्यो, स्मार्ट वाचको बढ्यो
काठमाडौँ– चालू आर्थिक बर्षमा मोबाइल फोनको आयात घटेको छ । आर्थिक बर्ष ०७९/८० को साउनदेखि जेठसम्म नेपालमा ५४ लाख ६४ हजार ६२ थान मोबाइल फोन आयात भएको भन्सार विभागले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६६ लाख ९६ हजार ५७२ थान मोबाइल सेट आयात भएको थियो ।
विभागका अनुसार यही अवधिमा ३ लाख ५६ हजार २५७ थान स्मार्ट वाच आयात भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १ लाख ३३ हजार ८०९ थान स्मार्ट वाच आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
अघिल्लो आर्थिक बर्षमा ३४ अर्व ५४ करोड २६ लाख १८ हजारको मोबाइल फोन र २३ करोड २८ लाख ५७ हजार रुपैयाँको भित्रिएको विभागले जनाएको छ । चालु आर्थिक बर्षका ११ महिनामा ३७ अर्ब ३ करोड ८१ लाख ६ हजारको मोबाइल फोन नेपाल भित्रिएको हो ।
यो अवधिमा नेपाल आयात गरिएको स्मार्ट वाचको मूल्य ५१ करोड ९० लाख ६१ हजार रहेको विभागले जनाएको छ ।
वैदेशिक मुद्रा सञ्चिती कम भएको कारण नेपाल सरकारले बस्तुको आयातमा कडाइ गरेको छ ।