अपहरणमा परेको नाटक गरेर परिवारसँग २० लाख फिरौती माग्ने पक्राउ
काठमाडौं - आफू अपहरणमा परेको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैंयाँ फिरौती मागेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी, राजगढ गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मा छन् ।
असार १ गते घर परिवारलाई रकम पठाउन जान्छु भनी उनी डेराबाट हिँडेका थिए । घरबाट हिँडेका उनी एक्कासी मोबाइल स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए । खोजी गर्दा उनी फेला नपरेपछि प्रहरीमा खोजीका लागि आफन्तले निवेदन दिएका थिए ।
तर, असार २ गते उनले प्रयोग गर्ने सामाजिक सञ्जाल इमोबाट परिवारलाई कृष्णकुमार शर्मालाई अपहरण गरेको र उनलाई मार्नको लागि आठ लाख प्राप्त भइसकेको र २० लाख फिरौती रकम दिएमा अपहरण मुक्त गरिदिने सन्देश आएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीलाई खबर गरेमा र दुई दिनभित्र भने जति रकम नदिएमा मारिदिने धम्कीपूणर् म्यासेज र अपहरण परेको भिडियो क्लिप समेत पठाइएको थियो । महानगरीय अपराध महाशाखाले घटनाबारे मोरङ प्रहरीको समन्वयमा अनुसन्धान गरेको थियो ।
अनुसन्धानकै क्रममा घर परिवारलाई डर-त्रास देखाई दबाब दिन नियोजितरूपमा आफूलाई नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो क्लिप्स बनाई पठाएको खुलेको छ । उनलाई आइतबार विराटनगरबाट पक्राउ गरी सार्वजनिक उपद्रयाई कसुरमा अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।