कन्दराको व्यवस्थापन हेर्दै नेपग्याज्म लाइभ इभेन्ट
काठमाडौं—लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यावसायिक सम्झौता भएको छ । गत मंगलबार दुई पक्षबीच सम्झौता भएको विज्ञप्ति मार्फत जनाइएको छ ।
व्याण्डका गायक विवेक श्रेष्ठले सम्झौतापछि कन्दराका गीत संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले जानकारी दिए ।
‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं । संगीत पूर्णरुपमा व्यवसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो ।’
उनका अनुसार यही वर्ष ब्याण्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ । यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ ।
कन्दराले पहिलो एल्बमको टाइटल ट्याक ‘चञ्चले कान्छी’, दोस्रो एल्बमको टाइटल ‘ट्याक डाँडापारि’ र तेस्रो एल्बमको गीत ‘विदेशिएर गइन् उनी’को रिप्राइज्ड भर्सन निकाल्ने तयारी गरिरहेको छ ।
यी गीतहरुको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रोमोसनसम्मका पक्ष एनएलईले हेर्ने छ । यसमा बजार प्रवद्र्धन र व्यवस्थापनदेखि ब्रान्डिङसम्मका काम अटाउने छ । व्याण्डले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ ।
एनएलई सन् २०१८ देखि स्ट्यान्ड अप कमेडी निर्माणमा अग्रणी संस्था नेपग्याज्मका संस्थापकहरुकै नेतृत्वमा सुरु भएको हो । नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै ‘कन्दरा ब्याण्ड’बाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए ।
सन् नब्बेको दशकमा उदाएको कन्दराका ‘लेककी हे माया’, ‘चन्चले कान्छी’, ‘तिमी पारी’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल राखी’जस्ता गीत चर्चित छन् ।
सन् १९९४ देखि सक्रिय कन्दरा ब्याण्डले हालसम्म पाँच वटा एल्बम सार्वजनिक गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०२
प्रतिक्रिया दिनुहोस्