सर्ट फिल्म अवार्डमा थर्ड आईलाई चार अवार्ड
काठमाडौं–दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिष्पर्धा ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’मा सर्ट फिल्म ‘थर्ड आई’ले चार अवार्ड जितेको छ । आसुतोष प्रोडक्सनको व्यानरमा निर्मित फिल्मले ‘सर्वोत्कृष्ट सर्ट फिल्म’ अवार्ड जित्दा यही फिल्मका लागि ‘सोसियल फिल्म’तर्फको ‘उत्कृष्ट निर्देशक अवार्ड’ आशुतोष तिवारीले, अभिनेत्रीतर्फ ‘जुरी अवार्ड’ अभिनेत्री कमला अधिकारीले र केडी प्रसितले ‘सह–अभिनेता’को अवार्ड जिते ।
स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियशनले आयोजना गरेको प्रतिष्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म निर्देशक’को अवार्ड फिल्म ‘अवसान’बाट कल्याण अधिकारीले जित्दा ‘उत्कृष्ट अभिनेता’को अवार्ड प्रदीप बास्तोलाले र ‘अभिनेत्री अवार्ड’ फिल्म ‘म मेरी बहिनी र उ’बाट सुजाता तिमल्सिनाले पोल्टामा पारिन् ।
त्यस्तै फिल्म ‘दानव’बाट मोहम्मद रफी शाहले निर्देशनतर्फ नै ‘जुरी अवार्ड’, फिल्म ‘१२ ए एम’बाट ‘नवनिर्देशक अवार्ड’ दिवस गिरीले जिते । ‘उत्कृष्ट छायाँकार’को अवार्ड फिल्म ‘कलेज लाईफ’बाट मनोज चौधरीले, ‘उत्कृष्ट सम्पादन’को अवार्ड फिल्म ‘इति’बाट नवीन निरौलाले प्राप्त गरेका ।
‘नव–अभिनेता’को अवार्ड ‘द टाईम’बाट अभिषेक खकुरेलले हात पार्दा यही फिल्मबाट सुदीप कुँवरले ‘नव–निर्देशक’को अवार्ड चुमे ।
नेपाल सर्ट फिल्म अवार्डको निर्णायकमा फिल्म निर्देशक मधुसुदन भट्टराई, पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदी, पत्रकार विष्णुप्रसाद सुवेदी, अभिनेता विकाश चापागाईं, गजित बिष्ट, गोपाल ढकाल ‘छन्दे’ र फिल्म लेखक शिवम अधिकारी थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:४९
प्रतिक्रिया दिनुहोस्