भाषा र सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध– प्रधानमन्त्री देउवा
काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सबको अवसरमा बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान पुर्याउँदै आएको भन्दै सरकार पनि यसको प्रवद्र्धनमा प्रतिवद्ध रहेको बताएका हुन् ।
मुलुकको नयाँ रुपान्तरणसँगै बहुजातीय, बहुभाषिक सम्बोधन गर्नेगरी कृतिहरु, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरुको एकता बढाउन सिर्जनशील कार्य गरेको भन्दै उनले प्रतिष्ठानको प्रशंसा गरे । नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा लैजान प्रतिष्ठानले खेलेको भूमिकाको उनले स्मरण गरे । प्रधानमन्त्री देउवाले आगामी दिनमा संस्थाको गतिविधिलाई घतिभूत रुपमा अघि बढाउन र भाषा संस्कृतिको संरक्षण गर्न थप योगदान पुराउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माण र नेपाली बृहत् शब्दकोष डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुने बताए ।
उनले साहित्य र संस्कृतिसँग जोडिएका विभिन्न प्रतिष्ठानहरुलाई गत वर्षको तुलनामा यसपटकको बजेटमा उपेक्षा गरिएको गुनासो गरे । उनले थप कृति र रचना प्रकाशित गर्न थप बजेटको आवश्यकता पर्ने धारणा राखे ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२१
प्रतिक्रिया दिनुहोस्