‘अग्निपथ योजना’ अन्तर्गत भारतीय वायु सेनामा आजदेखि आवेदन खुला
काठमाडौँ– भारतीय वायु सेनामा आजदेखि भारत सरकारको ‘अग्निपथ योजना’ अन्तर्गतको ‘अग्निवीरहरु’ को भर्तीका लागि आवेदन खुला भएको छ । भारतमा अग्निपथ योजनाको व्यापक विरोधका बीच सरकारले वायु सेनामा भर्तीका लागि आवेदन खुला गरेको हो ।
आजदेखि प्रतिभागी अग्निपथ योजना अन्तर्गत वायु सेनाका लागि अनलाइन फारम भर्न सकिने भारतीय वायु सेनाले जनाएको छ ।
आगामी जुलाई ५ सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । वायु सेनामा भर्तीका लागि आवेदन दिएकाहरुको परीक्षा एक महिनापछि आगामी जुलाई २४ देखि हुनेछ ।
भारतीय वायु सेनाको वेबसाइटमा भर्ती सम्बन्धी सम्पूर्ण जानकारी दिइएको छ । भर्तीका लागि आवश्यक कागजात तथा प्रमाण पत्र अनलाइनमार्फत अपलोड गर्न सकिनेछ । यसका साथै अनलाइन परीक्षाका लागि २५० भारु परीक्षा शुल्कसमेत बुझाउनु पर्ने सूचनामा भनिएको छ ।
भारतीय सेनाको तीन अंग थलसेना, वायुसेना र नौसेनामा क्रमशः जवान, एयरम्यान र नौसैनिक पदमा भर्तीका लागि रक्षा मन्त्रालयले ल्याएको एक नयाँ योजनालाई अग्निपथ योजना नाम दिइएको हो ।
यो योजना मातहत भर्ती भएकाहरुलाई अग्निवीरको रुपमा चिनिनेछ भने उनीहरुको कार्यकाल चार वर्षको मात्रै हुने छ ।
१७ वर्ष पाँच महिनादेखि २१ वर्षसम्मका युवाले सेनामा भर्तीका लागि आवेदन दिन सक्नेछन् । यद्यपि, कोरोना महामारीका कारण भर्ती प्रक्रिया रोकिएकाले यस वर्ष भने अधिकतम उमेरको सीमामा दुई वर्षको छुट दिइएको छ । जसका कारण यसपटक भने २३ वर्षसम्मका युवाले भर्तीका लागि आवेदन दिन सक्ने भारतीय सेनाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:४८
प्रतिक्रिया दिनुहोस्