भरतपुर महानगरले ल्यायो पाँच अर्ब ७४ करोडको बजेट (पूर्णपाठ)
चितवन - भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/०८० को लागि कुल बजेट पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजारको आएको छ । आज नगर सभामा उपमेयर चित्रसेन अधिकारीले बजेट पेश गरेका हुन् ।
नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि आव २०७९/८० को कुल व्यय ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रहेको उनले जानकारी दिए । बजेटको स्रोत महानगरले आन्तरिक आय १ अर्व ५० करोड (घरजग्गा रजिष्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय समेतबाट जुटाउने उल्लेख गरेको छ ।
अन्तर्सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ५ करोड रहने प्रक्षेपण गरिएको छ । अन्तर्सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब ४० करोड रहने प्रक्षेपण गरिएको छ। यसलाई अन्तर्सरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकनको व्यवस्था गरिने बजेट भाषणमा उल्लेख छ।
भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । एघारौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य सहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक कालोपत्रे गर्ने नीति महानगरले लिएको हो । महानगर प्रमुख रेनु दाहालले आज यहाँ प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शहीद चोक, हाकिमचोक र मालपोत चोक जस्ता व्यस्त चोकमा आकाशे पुल निर्माण गरिने उल्लेख छ । खाल्टाखुल्टीमुक्त महानगरको अभियान सञ्चालन गरी महानगरपालिकामा निर्मित पूर्वाधारको मर्मतसम्भार, ग्राबेल, खाल्टाखुल्टीजस्ता स-साना मर्मत कार्य तत्काल कार्यान्वयन गर्न प्राविधिकसहितको टिम बनाई कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा जनाइएको छ ।
महानगरभित्र तीनवटा रूटमा विद्युतीय बससहित गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको प्रारम्भ गरिनेछ । ज्येष्ठ तीर्थयात्रीका लागि पवित्रधाम देवघाटसम्म जाने र आउने निःशुल्क विद्युतीय बसको सुविधा प्रदान गरिने उनले बताइन् । महानगरभित्र अत्यावश्यक स्थानमा सार्वजनिक शौचालय निर्माण गरिनेछ । महानगरपालिकालाई हरियाली, वातावरणमैत्री तथा खेलकुदमैत्री सहरको रूपमा अगाडि बढाउन एक वडा, एक पार्क तथा एक वडा, एक खेल मैदान हुने गरी पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ । भरतपुरको मुख्य सहरी क्षेत्रलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन गरिने प्रमुख दाहालले बताइन् ।
नगर वनलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न आवश्यक पहल गरिने भएको छ । अन्य सामुदायिक वनलाई पनि दिगो पर्यटकीय स्रोतका रूपमा संरक्षण गर्न आवश्यक पहल लिने नीति तथा कार्यक्रममा उल्लेख छ । भरतपुर महानगरअन्तर्गतका सामुदायिक विद्यालयमध्येबाट पाँच बिघाभन्दा बढी क्षेत्रप़mल भएका नमूना उन्मुख एक विद्यालय छनोट गरी खेलकुदका पूर्वाधारसहितको संरचना निर्माणको गुरूयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ ।
महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने विकास आयोजनाको जनसहभागितासम्बन्धी नीतिमा एकरूपता कायम गरिनेछ । नयाँ सडक निर्माणसम्बन्धी आयोजनामा कम्तीमा २० प्रतिशत, सडक पुनर्निर्माण र मर्मतसम्बन्धी आयोजना तथा अन्य पूर्वाधारजस्तै विद्यालय भवन, कल्भर्ट, सिँचाइ, सामुदायिक भवन आदि आयोजनालाई कम्तीमा १० प्रतिशत र जनसहभागिता नजुट्ने आयोजनाको सञ्चालन बोलपत्रको माध्यमबाट कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । रोजगारी सिर्जना हुने र मेसिनरी औजार प्रयोग नहुने आयोजना मात्र उपभोक्ता समितिबाट सञ्चालन गरिने र ठूला तथा मेसिनरी औजार प्रयोग हुने, रु ४० लाखभन्दा माथिको लागत र २० प्रतिशतभन्दा कम जनसहभागिता भएका सडक आयोजना बोलपत्रमार्फत कार्यान्वयनमा ल्याइनेछ ।
नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक लाइट एवं हाई मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ । भरतपुर केन्द्रीय बस टर्मिनलमा निर्माण सुरू भएको विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन सम्पन्न गरी अन्य स्थानमा समेत क्रमशः विस्तार गरिनेछ ।
जिआइएस प्रविधिको प्रयोग गरी वडा सीमाना, सडक सञ्जाल एवं सडक अधिकार क्षेत्र वर्गीकरण गरिने छ । जिपिएस सिस्टम कार्यान्वयन गरी सवारी साधनमा नेभिगेसन जडान प्रविधि लागू गरिनेछ । पूर्वाधार विकासको कार्यलाई व्यवस्थित गर्न आगामी वर्ष सञ्चालन गरिने सम्भावित ठूला आयोजनाको ‘परियोजना बैंक’ तयार गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । महानगरपालिका क्षेत्रभित्रका विद्युत्, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई चरणबद्धरूपमा भूमिगत गर्दै लगिने भएको छ । जथाभावी जमिन खण्डीकरण गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । अव्यवस्थित बसोबास कार्यलाई नियन्त्रण गर्न भू-उपयोग नीति तथा मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने छ ।
सडक अधिकार क्षेत्र १६ मिटरभन्दा बढी र अन्य सडक निर्माण गर्दा हरियाली, फुटपाथ र साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने दाहालले बताइन् । महानगरपालिकाभित्रका छ मिटरभन्दा बढी सडक अधिकार क्षेत्र भएका सडक कालोपत्रे गर्दा आधुनिक प्रविधि अवलम्बन गरी निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ । देशभित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीतिलाई अवलम्बन गरिने उल्लेख गर्दै सोअनुसार छ मिटरभन्दा स-साना सडकमा मोजाइक टायल तथा ढलान गर्ने नीतिलाई निरन्तरता दिइने जनाइएको छ ।
सहरी क्षेत्रमा बसोवास गर्ने नागरिकलाई शारीरिक व्यायामका लागि सार्वजनिकस्थलमा आधुनिक खुला व्यायामशाला स्थापना गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गमैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।
केरूङ्गा घोल, पुङ्गी खोलालगायतका स्थानलाई महानगरको मूल सतह ढल निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यकरण गरिने छ । नारायणी नदी किनारामा निर्माणाधीन सी बिच मोडेलसहितको मनोरञ्जन पार्क निर्माण गर्ने कार्यलाई सङ्घ एवं प्रदेश सरकारसँगको साझेदारीमा निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरपालिका-२९ मा निजी क्षेत्रसँग सहकार्य गरी एक राष्ट्रियस्तरको औद्योगिक शिक्षालय निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ । महानगरपालिकाभित्र एक सडकमा एउटै रङ भएका भवन तथा एक सडक, एक विद्युत् स्वीच जडान विधि कार्यान्वयन गर्ने नीति लिइने भएको छ ।
पूर्वाधार विकास बैंकसँग साझेदारी गरी महानगरमा सञ्चालन हुने पूर्वाधार विकासका लागि स्रोत उपलब्ध गराउन सहजीकरण गरिने भएको छ । महानगरपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा बायोग्यास प्रणाली निर्माण गर्ने कार्यको थालनी गरिने भएको छ । अटोल्याण्ड स्थापनाको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा कार्यान्वयन प्रक्रिया अघि बढाइने नीति तथा कार्यक्रममा जनाइएको छ ।
भरतपुर महानगरपालिकालाई खेलकुद सिटीका रूपमा विकास गरिने भएको छ । देशकै गौरवपूणर् आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य सम्पन्न गर्न नेपाल सरकार, बागमती प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय र पहल गरिने दाहालले बताइन् । फुटबल रङ्गशाला चित्रवनको पूणर्ता, क्याम्पाचौरलाई मिनी स्टेडियमलगायतका पूर्वाधारलाई प्राथमिकताका साथ विकास गरिने भएको छ ।
‘वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद’ तथा हाम्रो पालिका स्वस्थ बालबालिकाको अवधारणाअनुरूप महानगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवालाई गुणस्तरीय र जनमुखी बनाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ । दूध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर दूधमा रु तीन अनुदानलाई निरन्तरता दिइने भएको छ । बागमती प्रदेशसँगको समन्वयमा पशु एम्बुलेन्स कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ । भरतपुर भ्रमण वर्ष विसं २०८० घोषणा गरी ‘घुमौं भरतपुर’ अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । भरतपुर (चितवन)- पोखरा (कास्की)- लुम्बिनी स्वणर् त्रिकोण पर्यटन प्रवद्र्धन कार्यक्रमलाई सफल बनाइने भएको छ ।भरतपुर महानगर दिगो औद्यौगिक सहर भन्ने अभियान सञ्चालन गरिने भएको छ । महानगरभित्र उद्योग सञ्चालन कार्यविधि बनाई लागू गरिने छ । कर तिरौँ आफ्नै लागि भन्ने अभियान सञ्चालन गरी कर प्रशासनलाई सरल, पारदर्शी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाई अधिकतम कर सङ्कलन हुने वातावरण सिर्जना गरिने भएको छ ।
नेपाल पत्रकार महासङ्घ चितवनलगायत सञ्चार सम्बद्ध सङ्घ-संस्थाको क्षमता विस्तार र सशक्तीकरणका लागि साझेदारी गरिने भएको छ । महानगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि अन्तर्राष्ट्रिय मेगासिटीसँग भगिनीसम्बन्ध कायम गरी विकास निर्माणका कार्यमा नवीनतम प्रयोग गरिने छ । भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने सम्पूणर् भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गाधनी प्रमाण पूर्जा वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रमुख दाहालले अघिल्लो पाँच वर्षे कार्यकालमा भएका महत्वपूर्ण कार्य, सङ्घ र प्रदेश सरकारको बजेटमा यहाँ भइरहेका विकास कार्यको चर्चा गरेकी थिइन् । उनले महानगरको पहलमा सङ्घ र प्रदेशसँग सहकार्य गरेर गर्न लागिएका महत्वपूणर् आयोजनाको बारेमा जानकारी दिएकी थिइन् । दोस्रो पटक निर्वाचित भएपछि दाहालले पहिलो नगरसभामा नीति तथा कार्यक्रम ल्याएकी हुन् ।
यस्तो छ पूर्णपाठ
भरतपुर महानगरपालिकाको सम्मानित एघारौं नगरसभा २०७९ साल आषाढ १० गते शुक्रबार महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/ ८० को बजेट वक्तव्य
सभाका अध्यक्ष एवं नगर प्रमुख ज्यू, नगर सभाका सदस्य ज्यूहरू । १. महानगरपालिकाको सम्मानित एघारौं नगरसभा समक्ष महानगरको भाविसोच एवं जनआकांक्षा समेटिएको आर्थिक वर्ष २०७९।०८० को समग्र नीतिलाई कार्यक्रम मार्फत कार्यान्वयनमा ल्याउने दस्ताबेजको रुपमा बजेट प्रस्तुत गरिरहँदा मैले अत्यन्तै गर्वको महसुस गरेको छु। २. आर्थिक वर्ष २०७९।०८० को बजेटले महानगरपालिकाको सामाजिक, आर्थिक, सास्कृतिक र दिगो तथा वातावरणमैत्री पुर्वाधार विकासमा रणनैतिक महत्व राख्ने अपेक्षा राखिएको छ।यस महत्वपूणर् अवसरमा नेपालको राजनीतिक परिर्वतनमा जीवन बलिदान गर्नुहुने सम्पूणर् ज्ञातअज्ञात शहीदहरूप्रति भावपूणर् श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै संघीय शासन पद्धति आत्मसात गर्दै राष्ट्रियता, स्वाधिनता, सामाजिक न्याय, समानता र समृद्धि प्राप्तिको लागि संघर्ष गर्नुहुने महान् नेपाली जनता र सो अभियानको सफल नेतृत्व गर्नुहुने नेपाली राजनीतिका शिखर व्यक्तित्वहरूप्रति हार्दिक सम्मानभाव व्यक्त गर्न चाहन्छु। ३. स्थानीय तहको हालै सम्पन्न निर्वाचनबाट जनताको अपार माया तथा भरोसाका साथ भरतपुर महानगरपालिकाको विकास र समृद्धिको नेतृत्वमा विजय गराउनु भएको छ।यस अवसरमा सम्पुणर् महानगरबासी जनसमुदाय प्रति हार्दिक आभार एवं धन्यवाद प्रकट गर्न चाहान्छु। ४. “मध्यनेपालको सुन्दर शहर,समृद्ध र सुसंस्कृत भरतपुर महानगर “ भन्ने मूल नारा लाइ आत्मसात् गर्न स्वास्थ्य, शिक्षा, रोजगारी, उत्पादन, खानेपानी, दीगोपूर्वाधार निर्माण तथा प्रभावकारी सेवा प्रवाह मार्फत सुशासन कायम गरी महानगरवासीलाई परिर्वतनको प्रत्यक्ष लाभ पुर्याउन महानगरपालिका कटिबद्ध रहेको जानकारी गराउन चाहन्छु। ५. नेपालको संविधान;संघीय तथा प्रदेश सरकारबाट जारी ऐन, कानून तथा स्थानीय सरकार सञ्चालनको मार्गदर्शन को रुपमा रहेको स्थानीय सरकार सञ्चालन ऐन, २०७४;महानगरको अर्थ विधेयक,२०७९; विनियोजन विधेयक, २०७९;आ.व. २०७९।८० को नीति तथा कार्यक्रम; संघीय तथा प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु;स्थानीय तह संस्थागतक्षमता स्वमूल्यांकन कार्यविधि २०७७,विकास बहस कार्यक्रमहरु,विकासका सहयात्रीहरु,महानगरका विषयगत समितिका सुझावहरू;विज्ञ महानुभावको सुझावहरु,दीगो विकासका लक्ष्यहरु; नगर सभाका सदस्यज्यूहरूले दिनुभएका सुझावहरू;सञ्चारकर्मी, नागरिक समाज, राजनीतिक दलहरू, विभिन्न संघसंस्था एवं सरोकारवालाको सुझावर महानगरबासी दिदीबहिनी तथा दाजुभाइहरूबाट प्राप्त महत्वपूणर् तथा कार्यान्वयनयोग्य सुझाबहरूलाई समेत समेटी आ.व. २०७९/ ८० को नीति तर्जुमा र सोको कार्यान्वयन गर्न यो बजेट तर्जुमा गरिएको छ।
६. अव म महानगरपालिकाको आर्थिक स्थितिको संक्षिप्त जानकारी गराउन चाहन्छु।चालु आ.व. २०७८।०७९ को लागि कूल अनुमानित आय रु छअर्व ५१करोड ७३ लाख ८८हजार (जेठ मसान्तसम्म पुरक बजेट तथा थप अख्तियारी समेत) र व्ययतर्फ रु ५अर्व ५१ करोड ७३ लाख ८८ हजार(पुरक बजेट तथा थप अख्तियारी समेत) अनुमान गरिएको थियो।अनुमानित आयमा२०७९जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी रु ९७ करोड (घर जग्गा रजिष्ट्रेशनतथा जनसहभागिता सहित)प्राप्त भएको छ। ७. व्ययतर्फ चालु शीर्षकमा रु २ अर्व ३३ करोड २३ लाख ५२हजार विनियोजन भएकोमा २०७९ जेठ मसान्तसम्म रु१ अर्ब ४१ करोड१६लाख ४९ हजारअर्थात ६१ प्रतिशत र पुँजिगततर्फरु ३ अर्व १८ करोड ५० लाख ३६ हजार विनियोजन भएकोमा१ अर्व ९ करोड २७ लाख ६८हजार अर्थात ३५प्रतिशत गरी कुल खर्च जम्मा २अर्ब ५० करोड ४४ लाख भएको अवस्था छ।गत आ.व. यही समयमा चालु खर्च ५७ प्रतिशत तथा पुँजिगत खर्च ३७ प्रतिशत रहेको थियो। ८. २०७९आषाढ मसान्तसम्म संसोधित अनुमान राजश्व आम्दानीतर्फ जनसहभागिता तथा घरजग्गा रजिष्ट्रेशन शुल्क समेत गरी करिब रू. १ अर्व २० करोड आम्दानी रहने अनुमान गरिएको छ। खर्चतर्फ चालु खर्च करिब रू१ अर्ब ६७ करोड ५० लाख र पुँजिगत खर्चतर्फ रू १ अर्ब ७५ करोड तथा संघीय र प्रदेश सरकारको सशर्त अनुदान रु ७ करोड फ्रिज हुने संशोधित अनुमान गरिएको छ। ९. अब म आगामी वर्ष २०७९।८० को बजेटका उद्देश्य तथा प्राथामिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु। बजेटका उद्देश्यहरू निम्नानुसार प्रस्तुत गरिएको छ क. दीगो फराकिलो र उच्च आर्थिक वृद्धि र विकासको आधारशीला निर्माण गर्नु ख. गुणस्तरीय शिक्षामा सवैको पहुँचको सुनिश्चितता गर्नु ग. उत्पादनमूलक रोजगारीबाट समुन्नत महानगरपालिका निर्माण गर्नु घ. दिगो, वातावरणमैत्री तथा विपद् उत्थानशील पुर्वाधारहरु निर्माण गर्नु ङ. विकासका सबै सहयात्रीहरु सँगको निरन्तर सहकार्य मार्फत लगानीमैत्री वातावरण निर्माण गर्नु च. प्रविधिमैत्री, नागरिकमैत्री सेवा प्रवाह मार्फत सुशासन प्रर्वद्धन गर्नु। १०. आर्थिक वर्ष २०७९।८० को बजेटका प्रथामिकताका क्षेत्रहरू निम्नानुसार प्रस्तुत गरिएकोछ । १. शहरी पुर्वाधार, भू उपयोग तथा वस्ति विकास र अधुरा योजनाहरुको निरन्तरता २. कृषि तथा पशुविकास ३. शिक्षा विकास ४. मर्मत सम्भार ५. स्वास्थ्य सेवा ६. वातावरण, सरसफाई एवं हरियाली तथा विपद् व्यवस्थापन ७. सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग ८. सहकारी तथा रोजगार प्रर्वद्धन ९. पर्यटन तथा उद्योग र वाणिज्य १०. युवा तथा खेलकुद ११. लैङ्गिक समानता, महिला शसक्तिकरण र सामाजिक समावेशीकरण १२. विपद् तथा प्रकोपकोष १३. राजश्व प्रशासन १४. कर्मचारी प्रशासन,जनशक्ति विकास तथा सुशासन १५. नीजि क्षेत्रसँग सहकार्य
बजेटले राखेका उद्देश्य एवं प्राथमिकता कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार, छिमेकी स्थानीय तहहरु,निजि तथा सहकारीक्षेत्रसँग समन्वय एवं साझेदारी गरिनेछ । विनियोजन हुने बजेट र वार्षिक कार्यक्रमलाई नीति तथा बजेटका प्राथमिकता र उद्देश्यसँग तादात्म्यता कायम गर्ने अधिकतम प्रयास गरिएको छ । सभाका अध्यक्ष एवं नगर सभाका सदस्यज्य“हरू, ११. अब म महानगरको आ.व. २०७९।८० कूल आय र व्ययको अनुमानित विवरण यस गरिमामय सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु । १२. नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि आ.व. २०७९।८० को कूल व्यय रू. ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रहेको छ।यसको लागि आन्तरिक आय रु १ अर्व ५० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको वाँडफाँडबाट प्राप्त आय समेत),अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ढद्द करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु १ अर्व ३० करोड, मर्मत सम्भार कोष बाट रु ४ करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवन बाट रु ५ करोड रहने प्रक्षेपण गरिएको छ। १३. अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्व ४० करोड रहने प्रक्षेपण गरिएको छ।जसलाई अन्तरसरकारी अख्तियारी शीर्षकबाट नै खर्च तथा लेखांकनको व्यवस्था गरिने छ। १४. अब म क्षेत्रगत कार्यक्रम तथा विनियोजित बजेट प्रस्तुत गर्न चाहन्छु । अधुरा तथा क्रमागत योजनाहरुको निरन्तरता १५. यस आ.व. मा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट रु १ अर्व ३० करोड बजेट विनियोजन गरिएको छ।
वडास्तरबाटै सम्पन्न हुने योजनाहरु १६. हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने छ।यसरी कार्यान्वयन हुने योजनाहरुको लागि प्रत्येक वडाका लागि रु २ करोड ५० लाखको दरले जम्मा रु. ७२ करोड ५० लाख विनियोजन गरिएको छ। शहरी पुर्वाधार, भू उपयोग तथा वस्ति विकास १७. ठुला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको श्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न रु ६ करोड बजेट विनियोजन गरिएको छ। १८. महानगरपालिकाको एकीकृत शहरी विकास गुरु योजना तर्जुमा गर्ने, महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण, विध्युतीय बसको खरिद गर्ने, महानगरभित्र अत्यावश्यक स्थानमा सार्बजनिक शौचालयहरु निर्माण, भरतपुरको कोर सिटीलाई विकेन्द्रीकरण गर्ने उदेश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन, हरीयाली सहितको नमूना सडक निर्माण, सिचाई, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, ओभरहेड ब्रिज निर्माण, आयोजना बैंक निर्माण लगायतका शहरी सौन्दर्य र भूउपयोग तथा वस्ति विकास सम्बन्धि नीतिहरु कार्यान्वयन गर्नको लागि रु २८ करोड विनियोजन गरिएको छ। १९. नक्सा प्रणाली लाइ व्यवस्थित गर्नुको साथै विद्युतीय नक्सा पास प्रकृयालाइ सुदृण गर्ने र भवन संहिता सम्बन्धि तालिम सञ्चालन गर्नको लागि आवश्यक बजेट व्यवस्थापन गरिएको छ। कृषि विकास तथा पशुविकास २०. कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रिकरण कार्यक्रमलाई निरन्तरता, कृषकहरूको क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणका तालिमहरु संचालन, व्यवसायिक तथा सामुहिक तरकारी खेती गर्ने कृषकहरूका लागि ढुवानीका साधनमा अनुदान, कृषि विमा कार्यक्रमलाई निरन्तरता,खाद्य गुणस्तर परीक्षण प्रयोगशाला स्थापनाको अध्ययनलगायतका कृष सम्बन्धि नीति कार्यान्वयन गर्नको लागि रु ८ करोड साथै प्रति लिटर दुधमा रू. ३अनुदानलाई निरन्तरता,आर्थिक अवस्था कमजोर भएका र रोजगारी नभएका विपन्न परिवारहरूको जिविकोपार्जनका लागि निर्वाहमूखी पशुपन्छीपालन कार्यक्रम कार्यान्वयनलाई निरन्तरता,गाइभैंसीहरूमा कृत्रिम गर्भाधान कार्यक्रम कार्यान्वयन र बाँझोपनको समस्या निराकरणका लागि घरदैलो घुम्ती शिविर सञ्चालन, मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता लगायत पशु विकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड ५० लाख गरी कृषि तथा पशुविकासतर्फ रु १५ करोड ५० लाख विनियोजन गरिएको छ। शिक्षा विकास २१. सामुदायिक विद्यालयहरुमा भवन निर्माण, जस्ताको छानामुनि फल्स सिलिङ, स्कुल कलर कोड, सामुदायिक विद्यालयका बालबालिकाहरूको वर्षको एक पटक विद्यालयमै निशुल्क स्वास्थ्य परीक्षण,विद्यालयहरूबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न एक वडा एक नमुना विद्यालय विकास कार्यक्रम,शिक्षामा पहुँच एवं गुणस्तर कायम लगायतका शैक्षिक विकासको नीति कार्यान्वयन गर्नको लागि रु १३ करोड विनियोजन गरिएको छ। नियमित मर्मत सम्भार २२. महानगरपालिका भित्र ग्रावेल सानातिना मर्मत तत्काल कार्यान्वयन गर्नको लागि रु ८ करोड बजेट विनियोजन गरिएको छ। स्वास्थ्य सेवा २३. महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भरतपुर अस्पतालबाट प्रदान गरिदैँ आएको निशुल्क ओपिडि टिकट अनुदान, सम्पूणर् किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको अभियान सञ्चालन,स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निशुल्क यातायात/एम्बुलेन्स खर्च, क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रमलाई निरन्तरता लगायत स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ। खानेपानी, वातावरण सरसफाई तथा हरीयाली प्रर्वद्धन २४. महानगरपालिका भित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशूल महानगरपालिकाले भुक्तानी गर्न रु ३ करोड बजेट व्यवस्थापन गरिएको छ। २५. , एक वडा एक फोहोरमैला व्यवस्थापन स्रोतकेन्द्र स्थापना, एक वडा एक पार्क निर्माण कार्यलाई निरन्तरता, डम्पिङ साईट व्यवस्थापन,फोहोरको प्रभावकारी संकलन, ढुवानी तथा व्यवस्थापन एवं हरियाली प्रवर्द्धन गर्ने, लगायतका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ७ करोड बजेट विनियोजन गरिएको छ । सूचना तथा प्रविधि एवं डिजिटल प्रणाली २६. महानगरपालिकामा सहितको ल्भतधयचपष्लन लाई व्यवस्थित गर्ने,सफ्टवेयर मर्मत तथा सम्भार,कम्तिमा १ वटा आइटी पार्क निर्माण गर्ने, विद्युतिय हाजिरीलाइ केन्द्रीकृत गर्ने,महानगरमा हाल प्रयोगमा आइसकेको अनलाइन राजस्व प्रणाली¸ अनलाइन पेमेन्ट¸अनलाइन नक्सा प्रणाली¸अनलाइन गुनासो ब्यवस्थापन ¸अनलाइन पञ्जीकरण¸डिजिटल नागरिक बडापत्र¸अनलाइन खरीद प्रणाली एवं डिजिटल योजना प्रणाली¸ बायोमेट्रिक हाजिरीलगायतको कार्यक्रम कार्यान्वयन गर्न रु घ करोड विनियोजन गरिएको छ । सहकारी तथा रोजगार प्रर्वद्धन २७. सहकारी मार्फत उद्यमशीलताको बिकास गर्न युवा तथा उद्यमीहरूलाई नविन व्यवसाय शुरुगर्न आवश्यक क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच सहजीकरण,सहकारी शिक्षा र तालिम मार्फत सहकारीसंस्थाहरुको क्षमता अभिवृद्धिलगायतको नीति कार्यान्वयन गर्न रु २ करोड ५० लाख बिनियोजन गरिएको छ। पर्यटन तथा उद्योग वाणिज्य २८. भरतपुर महानगरलाइ पर्यापर्टन¸सांस्कृतिक पर्यटन¸ माइस पर्यटन¸ साहसिक पर्यटन¸धार्मिक पर्यटन¸कृषि पर्यटन¸विकास पर्यटन¸स्वास्थ्य पर्यटन र शैक्षिक पर्यटन, जल पर्यटनको प्रर्वद्धन गर्न बजेट व्यवस्थापन गरिएको छ । २९. पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा,भरतपुर (चितवन) - पोखरा (कास्की) - लुम्बिनी स्वणर् त्रिकोण पर्यटन प्रवर्द्धन कार्यक्रम, महानगरपालिकाका महत्वपूणर् सम्पदा स्थलहरूको सम्पदा संरक्षण गुरुयोजना तर्जुमा लगायतको पर्यटन तथा उद्योग बाणिज्य सम्बन्धि नीतिहरु कार्यान्वयन गर्नको लागि रु २ करोड ५० लाख विनियोजन गरिएको छ । युवा तथा खेलकुद ३०. युवावर्गलाई उद्यमशील बनाउन मागमा आधारित सीपमूलक तालिम, अवलोकन भ्रमण तथा परामर्शका कार्यक्रमहरू सञ्चालन,अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलमा पदक जित्ने महानगरबासी खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान लगायतका नीति कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु २ करोड बजेट विनियोजन गरिएको छ।
लैङ्गिक समानता, महिला शसक्तिकरण र सामाजिक समावेशीकरण २९.छोरीहरूको स्वास्थ्य तथा सुरक्षाका लागि महानगरभित्र स्थायी बसोवास गर्ने महिलाहरुबाट सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूलाई छोरी जीवन विमाकार्यक्रमको लागि रु २ करोड बजेट व्यवस्था गरिएको छ। ३०. महानगरभित्र रहेका लक्षित वर्ग उत्थान तथा सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिईनेछ, शारिरीक अशक्तताका कारण मध्यम अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिनेछ । छुवाछुत रबालश्रम निषेध, बालविवाह मुक्त महानगर घोषणा र अन्तरजातीय विवाह गर्ने दम्पत्तिलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनुका साथै जनयुद्ध, जनआन्दोलन, थरुहट लगायतका आन्दोलनमा शहिद तथा वेपत्ता र पिडित परिवारका सदस्यहरूलाई मासिक रूपमा प्रदान गरिने जिविकोपार्जन सहयोग तथा आर्थिक सहायता कार्यक्रमलाई निरन्तरताको लागि बजेट व्यवस्थापन गरिएको छ।एक वडा एक ज्येष्ठनागरिक विश्रामस्थल कार्यक्रमलाई निरन्तरता दिइने लगायतका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि रु २ करोड बजेट विनियोजन गरिएकोछ। विपद् व्यवस्थापन ३१. विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ती परिचालन, जोखिम अल्पीकरणका कार्यक्रम सञ्चालन, विपद्जोखिम न्यूनीकरण, राहत वितरण, पुनस्थापना जस्ता कार्यहरुगर्न एकमुष्ठ रु ४५ लाख ५२ हजार तथा विपद तथा प्रकोप व्यवस्थापन कोषमा रु २ करोड गरी जम्मा रु २ करोड ४५ लाख ५२ हजार बजेट व्यवस्थापन गरिएको छ । राजश्व प्रशासन ३२. राजश्वको अभिलेख व्वयस्थापन, राजस्व असूली कार्यलाई समयानुकूल र प्रविधिमैत्री बनाउन बजेट व्यवस्थापन गरिएको छ। महानगरको कर प्रशासनलाई चुस्त, सरल, प्रविधिमैत्री एवं करदातामैत्री बनाई अधिकतम कर सहभागिता सुनिश्चित गर्न कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने,महानगरपालिकाका सम्पूर्ण करदाताहरूको तथ्याङ्क सङ्कलन गरी अभिलेख अद्यावधिक, करलाइ डिजिटल प्रणालीमा आबद्ध गर्ने लगायतका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु १ करोड बजेट विनियोजन गरिएको छ । कर्मचारी प्रशासन,जनशक्ति विकास तथा सुशासन ३३. अभिमुखीकरण, तालिम, अध्ययन, भ्रमणआदिबाट कर्मचारीको ज्ञान, सीप, क्षमताको विकास गर्न बजेट व्यवस्थापन गरिएको छ। साथैसङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, सार्वजनिक सुनुवाइ र सामाजिक लेखापरीक्षण, चौवीसै घण्टा नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याउने लगायतका नीति कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु १ करोड बजेट विनियोजन गरिएको छ । नीजि क्षेत्र लयागत अन्य विकास सहयात्री सँग सहकार्य ३४. संघ तथा प्रदेश सरकार एवं निजि तथा अन्य क्षेत्रको सहकार्यमार्फत लगानी सम्मेलन मार्फत श्रोत जुटाइ दीगो पुर्वाधार विकास लगायतको कार्य गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । सेवा प्रवाह र प्रशासन ३५. उत्प्रेरित एवं उच्च मनोबलयुक्त जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह भई आम सेवाग्राहीले सुशासनको अनुभूति गर्ने हुँदा कर्मचारीको क्षमता अभिबृद्धि गर्न, नेपाल सरकारले बढाएको तलवमानको समायोजन गरिनेछ।साथै विगत नवौं नगरसभाबाट भएको निणर्यमा सबै कर्मचारिहरु लाइ समानता कायम गरी १५ प्रतिशत प्रोत्साहन भत्तालाइ निरन्तरता दिइएको छ।महानगरपालिकाको समग्र प्रशासनिक खर्च को लागि एकमुष्ठ रु ७५ करोड बजेट विनियोजन गरिएको छ । ३६. मागमा आधारित लक्षित वर्ग कार्यक्रम तथा सामाजिक उत्थान क्षेत्रकोसमग्र नीति कार्यान्वयन गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । ३७. संघीयतथा प्रदेश सरकाबाट प्राप्त सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान ,सडक बोर्ड नेपाल एवं जिल्ला समन्वय समितिबाट प्राप्त बजेट तोकिएकै शिर्षकमा खर्च तथा लेखाङ्कन गरिने छ ।
अन्तमा, प्रस्तुत बजेट तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्षरूपमा सहयोग पुर्याउनुहुने नगर प्रमुख ज्यू, कार्यपालिका सदस्य ज्यू, नगरसभा सदस्यज्यू, विज्ञ महानुभाव, राजनीतिक दलका प्रतिनिधि एवं राजनीतिज्ञ, सञ्चारजगत्, नागरिक समाज, निजि क्षेत्र एवं विकास सहयात्री लगायत सम्पूर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनी तथा अहोरात्र खटिने महानगरपालिकाका सम्पूर्ण कर्मचारी मित्रहरूलाई हार्दिक धन्यवाद् ज्ञापन गर्दछु । साथै आय र क्षेत्रगत व्यय समेटिएको रातो पुस्तिका शिघ्र सार्वजनिक गरिने व्यहोरा यस सम्मानित नगरसभा समक्ष जानकारी गराउछु ।
धन्यवाद चित्रसेन अधिकारी उपप्रमुख भरतपुर महानगरपालिका भरतपुर, चितवन मिति २०७९ आषाढ १० गते शुक्रबार ।