संसदमा उठ्यो क्रिकेट संघको निर्णयमाथि प्रश्न
काठमाडौँ– नेपालमा हुने 'नेपाल टी ट्वेन्टी लिग' र 'जुनियर क्रिकेट लिग' को जिम्मा भारतीय कम्पनीलाई दिने नेपाल क्रिकेट संघ क्यानको निर्णयमाथि संसदमा प्रश्न उठेको छ । आइतबारको बैठकमा सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले क्यानको निर्णयमाथि प्रश्न गर्दै सम्झौता खारेजीको माग गरेका हुन् ।
क्यानले नेपाल टी ट्वेन्टी लिग र जुनियर क्रिकेट लिगको आयोजना, सञ्चालन र प्रत्यक्ष प्रसारणसमेतको अधिकार ८ बर्षका लागि भारतीय सेभेन थ्री स्पोर्टस प्रालिलाई दिने भएपछि बाँस्कोटाले यसमाथि संसदको विशेष समयमा प्रश्न उठाएका हुन्।
सरकारबाट अनुदान पाउने क्यानले नेपाली क्रिकेटलाई नै दूरगामी असर पर्ने गरि र सार्वजनिक खरिद ऐन लगायत प्रचलित कानुन समेत पालना नगरि विदेशी कम्पनीलाई यस्तो ठेक्का दिनु आपत्तिजनक भएको बाँस्कोटाको भनाइ छ । खेल क्षेत्रलाई बर्बाद बनाउने भन्दै यस्तो सम्झौता कार्यान्वयन हुन नहुने र तत्काल त्यसलाई उल्टाउनुपर्ने उनले माग गरे ।
क्यान श्रोतका अनुसार क्यानको बोर्ड बैठकमा चर्को विरोध भएपछि सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौता अघि नबढाउने निर्णय गरिएपनि क्यानले फेरि सोहि कम्पनीलाई ठेक्का दिने भएको हो । काठमाडौँको होटल एल्लो प्यागोडामा भएको हाम्रो बोर्ड बैठकमा धेरैजनाको विरोध आएपछि त्यो प्रकृयालाई अघि नबढाउने कुरा भएको थियो', क्यान श्रोतले भन्यो 'तर फेरि धनगढीमा भएको बोर्ड बैठकले विरोधका बीच यो सम्झौता अघि बढाउने निर्णय गरेको हो ।’
क्यानले यी दुई लिगको सम्पूर्ण अधिकार ८ बर्षका लागि ३२ करोड रुपैयाँमा भारतीय कम्पनीलाई दिने निर्णय गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:०६
प्रतिक्रिया दिनुहोस्