‘महिला पहिला’ अभियानसहित हिंसा विरुद्ध अघि बढ्ने मन्त्रालयको तयारी’
चितवन– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले लैङ्गिक हिंसालाई कम गर्दै महिलाको समग्र विकासका लागि मन्त्रालयले ‘महिला पहिला’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएकी छन् ।
मन्त्रालयले चितवनमा आयोजना गरेको महिला उद्यमशीलता विकास प्रशिक्षण कार्यक्रमको समापन सत्रमा मन्त्री रेग्मीले ९५ प्रतिशतभन्दा बढी हिंसा घरभित्र हुने गरेको बताइन् । उनले हिंसा विरुद्धको अभियानमा पुरुषलाई पनि समावेश गराउन मन्त्रालयले अभियान सुरुआत गर्न लागेको बताइन्। घरेलु हिंसा विरुद्धको अभियानका साथै महिलाको नेतृत्व क्षमताको विकास गर्नु आवश्यक भएको उनको भनाइ छ ।
महिलाहरूको उद्यमशीलता प्रवर्द्धनका लागि मन्त्रालयले विभिन्न किसिमका सीप विकास तथा बजारीकरण सम्बन्धी तालिम सञ्चालन गरेको उनले स्पष्ट पारिन् ।
यही असार ३ गतेदेखि १० दिनसम्म सञ्चालन भएको तालिममा भरतपुर र रत्ननगरका गरी २० जना उद्यमी महिलाहरूको सहभागिता थियो । मन्त्रालयका महिला विकास अधिकृत रमा पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा सरोज अधिकारी, शान्ति दाहाल र रत्ना घिमिरेले प्रशिक्षण दिएका थिए।
रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:२५
प्रतिक्रिया दिनुहोस्