Nic Ad Nic Ad
Nic Ad Nic Ad

नरले ल्याए दि हिमालयन

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– लेखक नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ सार्वजनिक भएको छ । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा राजधानीमा गत आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय गानका सर्जक व्याकुल माइला, कार्यक्रमका सभापति बाबुराम श्रेष्ठ ‘वर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मीलगायतले पुस्तक सार्वजनिक गरे । पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गरेका हुन् । लेखक नर प्रधान भुटानी मूलका अमेरिकन नागरिक हुन् । पुस्तकमा लेखक प्रधानले ‘बुबासँगको बाल्यकाल’, ‘बुबाबिनाको जीवन’, ‘बालबालिकाको काम (एक नागरिकदेखि शरणार्थीसम्म)’, ‘एउटा शिविरबाट अर्को शिविरको यात्रा’, ‘दोस्रो दर्जाका मानिसहरू, ‘अमेरिका प्रस्थान’, ‘क्लिभ ल्याण्ड मेरो नयाँ गाउँ’, ‘गोप्य प्रेम कथा’, ‘व्यापारको अनुभव’, ‘अरुलाई सहायता गर्ने मेरो इच्छा’ र ‘मेरो जीवनीबाट सिक्न सकिने पाठहरू’ जस्ता ११ शीर्षकमा विभिन्न घटनाक्रमलाई कथानक रुपमा प्रस्तुत गरेका छन् । लेखक प्रधानले आफ्नो पुस्तक शरणर्थी जीवनको बारेमा अध्ययन अनुसन्धान गर्न एक राम्रो सन्दर्भ सामाग्रीको रुपमा सुरक्षित हुने विश्वास व्यक्त गरे । ‘हामी भुटानमा जन्मिए पनि हाम्रो रगतमा नेपाली पन छ, हाम्रो भाषा, संस्कृति, संस्कार, परम्परा नेपाली हो । हाल अमेरिकी नागरिक भएपनि आमाको विशेष चाहाना भएकोले पुस्तकलाई नेपाली भाषामा अनुबाद गरि पाठकमाझ ल्याएको छु, यो पुस्तकमा भुटानदेखि अमेरिकासम्मको यात्राका विभिन्न सन्दर्भ प्रस्तुत गरेको छु,’ उनले भने । कोरोना संक्रमणको समयमा क्यारेन्टाइनको समयलाई सदुपयोग गरेर अंग्रेजी भाषामा पुस्तक तयार भएको र अमेजनमार्फत राम्रो बिक्री भइरहेको पनि उनले सुनाए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:२७
प्रतिक्रिया दिनुहोस्