चालिस बढी हलमा चन्द्रको रण
काठमाडौं–नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढि हलहरुबाट प्रदर्शनमा आउने भएको छ ।
उनले राजधानीका केही मल्टीप्लेक्स हलमा पनि फिल्मका लागि कुराकानी भइरहेको जानकारी दिए । फिल्मले मुख्यतः तराई मधेश केन्द्रीत हलहरुमा बलियो उपस्थिति जनाउने र दर्शकको आकर्षण बढाउने सोच निर्माण टिमको छ ।
यो फिल्म यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । नेपालसँगै शुक्रबारबाट फिल्मले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थालनी गर्ने पन्तले बताए । जुलाई १० तारिखबाट दिल्लीमा फिल्म रिलिज हुनेछ । प्रान्तिय फिल्महरु पछिल्लो क्रममा भारतका ठुला राज्यमा समेत स्थान बनाउँदै अघि बढिरहेका छन् ।
एक्सन प्रधान फिल्ममा नेपाली कलाकार तथा प्राविधिक समेत आवद्ध छन् । ‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन् । फिल्ममा नरेनसँगै आनन्द ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको अभिनय छ । निर्देशक पन्तको कथामा अरुणकुमार मिश्रले फिल्म निर्माण गरेका हुन् ।
फिल्ममा अर्जुन जिसीको सम्पादन, मित्र डी गुरुङ र साहिल खानको ट्रेलर र टिजर सम्पादन, महेश पौडेलको छायांकन, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी छ । निर्देशक पन्तले चाँडै नै अभिनेत्री निता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ निर्देशन गर्दैछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:२३
प्रतिक्रिया दिनुहोस्