Nic Ad Nic Ad
Nic Ad Nic Ad

अहिले दैनिक १० करोडको बिजुली भारतमा विक्री भइरहेको छ : ऊर्जामन्त्री

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिले नेपालले दैनिक १० देखि १२ करोड रुपैयाँ बराबरको बिजुली भारतमा बेचिरहेको बताएकी छन् । सरकारको तर्फबाट सङ्घीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको उनले बताइन् । सुख्खायाममा भने भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था अझै रहेको उनले स्पष्ट पारिन् । मन्त्री भुसालले भनिन् ‘गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औसत मूल्य ९ रुपैयाँ ७ पैसा प्रति युनिट रहेको छ भने यो वर्षातमा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैयाँ ३८ पैसा प्रति युनिट रहेको छ ।

आगामी आर्थिक वर्ष वर्षायाममा बढी हुने करिब १५ देखि २० अर्ब नेपाली रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सकिनेछ भने आगामी पाँच वर्षपछि हरेक वर्ष ७० अर्ब नेपाली रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ ।’ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताएकी छन् छ । मन्त्री भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय बिजुली सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिने बताइन् ।

उनले भनिन्, ‘आउँदो दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन गरिनेछ । मैले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको छु । देशभरका झण्डै ५२ लाख ग्राहकमध्ये झण्डै २६ लाख ग्राहकले यो सुविधा पाएका छन् । सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रतियुनिट दुई रुपैयाँसम्म महसुल कायम गरिएको छ भने विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न गार्हस्थ्य वर्गको विद्युत् महसुल कम गरिएको छ । साथै खानेपानी र सिँचाइमा डिमान्ड शुल्क हटाइएको छ । खानेपानीतर्फ इनर्जी शुल्क झण्डै ५० प्रतिशतले घटाइएको छ । धेरैजासो वस्तु तथा सेवाको मूल्यवृद्धि भइरहेको अवस्थामा विद्युतको क्षेत्रमा विगत दुई वर्षमा दुई पटक गरी २० प्रतिशत विद्युत् महसुल घटाइएको छ ।’

मन्त्री भुसालले आउँदो आर्थिक वर्षदेखि हरेक वर्ष झण्डै सात सयदेखि एक हजार मेगावाट बिजुली नेपालको विद्युत् प्रणालीमा थपिँदै जाने बताइन् । यसरी विद्युत् थपिँदा आउँदा दुई वर्षका सुक्खा याममा समेत नेपालको बिजुलीले नै आन्तरिक माग धान्ने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०७
प्रतिक्रिया दिनुहोस्