सगरमाथा आरोही डा. भुसाल भन्छिन्– शिविर ४ मा अत्याधिक प्रदुषण
काठमाडौं– सगरमाथा आरोही डाक्टर प्रीति भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी उनले शिविर नम्बर ४ मा प्रदुषण अत्याधिक बढेकाले तत्काल सफाई आवश्यक भएको बताएकी हुन् ।
उनले १, २ र ३ नम्बर शिविर तुलनात्मक रूपमा सफा रहेको जानकारी दिइन् । नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर भुसालले गत वैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकीे थिइन् । कोभिड—१९ को लडाईविरुद्ध अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूलगायतको योगदानको उच्च सम्मान गर्न आफुले सगरमाथा आरोहण गरेको उनको भनाइ थियो ।
उनले प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु आफ्नो आरोहणको दोस्रोे लक्ष्य रहेको उनले बताइन् । ‘हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं भन्ने सन्देश विश्वभर छर्नका लागि एक जिम्मेवारी पर्वतारोहीको रूपमा समेत मैले सगरमाथा आरोहण गरेको हुँ’ उनले भनिन् ।
उनले बाल्यकालदेखि नै डाँडाकाँडा उक्लने, पौडी खेल्नेलगायतमा संलग्न भएकाले र पछिल्लो पटक फ्रान्स, स्विजरल्याण्डलगायतका देशमा सुन्दर हिमालहरू देखेपछि आफ्नै देशका हिमालहरू चढ्ने प्रण गरेको बताइन् । सगरमाथा आरोहणको क्रममा डाक्टर भुसालको साथमा व्यक्तिगत पथप्रदर्शक (गाइड) को रुपमा फुर्बा थिले शेर्पा र पासाङ गेलु शेर्पा रहेका थिए । उनको आरोहण अभियानको नेतृत्व चर्चित पर्वतारोही पेम्बा दोर्जी शेर्पाले गरेका थिए ।
हाल धापासी स्थित ग्रयाण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत डाक्टर भुसालको उच्च उचाई तथा खेल चिकित्सक भएर बिरामीहरूको सेवा गर्ने लक्ष्य रहेको छ । सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु हिमाल र अमादब्लम शिखर चढ्ने योजना बनाएको उनले बताइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:४६
प्रतिक्रिया दिनुहोस्