Nic Ad Nic Ad
Nic Ad Nic Ad

भरतपुर-बर्दघाट १२० केभी प्रशारण लाइनको केही खण्ड सञ्चालनमा

शुक्रबार, मंसिर ९, २०७९

चितवन - चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२० किलोभोल्ट (केभी) प्रशारण लाइनको केही खण्ड सञ्चालनमा आएको छ ।

चितवनको भरतपुर महानगरपालिका ११ आँपटारी सबस्टेशनबाट नवलपरासीको अरुण खोलासम्मको झन्डै ५६ किलोमिटर प्रसारण लाइनमा सोमवार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ ।

भरतपुर-बर्दघाट २२० केभी प्रशारण लाइन निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी अहिले सञ्चालनमा रहेको १३२ केभी प्रशारण लाइनमा जोडिएको छ । भरतपुर-बर्दघाट १३२ केभी प्रशारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर-बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सबस्टेशनबाट अरुण खोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेशनसम्म विद्युत् प्रवाह हुनेछ ।

अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रशारण लाइनबाट प्रगतिनगर सबस्टेशनमार्फत विद्युत् आपूर्ति हुनेछ । ती क्षेत्रमा झन्डै २५ मेगावाट विद्युत् खपत हुने गरेको छ ।

पुरानो १३२ केभी लाइनबाट कावासोतीलगायतका क्षेत्रमा विद्युत् आपूर्ति भएपछि सोमवारदेखि सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ झण्डै एक सय मेगावाट विद्युत् सिधै पठाउन सकिने जनाइएको छ । पहिले भरतपुर-बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत् आपूर्ति गरी बाँकी विद्युत् बर्दघाटतर्फ प्रवाह हुन्थ्यो ।

अहिले चालु रहेको भरतपुर-बर्दघाट १३२ केभी प्रशारण लाइन सिङ्गल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ झण्डै ८० मेगावाटभन्दा बढी विद्युत् पठाउन नसकिने बाध्यात्मक अवस्था थियो । भरतपुर-बर्दघाट २२० केभी प्रशारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोतीलगायतका क्षेत्रको झण्डै २५ मेगावाट लोड शिफ्ट भएकोले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् आपूर्ति गर्न सकिने भएको छ ।

भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ झण्डै २५ मेगावाट विद्युत् थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । नवलपरासी विनयी त्रिवेणी गाउँपालिका २ दुम्कीबासमा स्थानीयवासीको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वटा टावर बनाउन नसक्दा भरतपुर-बर्दघाट प्रशारण लाइन निर्माणको काम पूरा हुन सकेको छैन । सर्वोच्च अदालतले आइतवार रिट खारेज गरिदिएकोले अब दुई वटा टावर निर्माणको बाटो खुलेको छ ।

प्रशारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयवासीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतदेखि रोकिएको थियो । सर्वोेच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:२३
प्रतिक्रिया दिनुहोस्