कोलम्बिया जेल दङ्गाः ५१ जनाको मृत्यु
काठमाडौँ– पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
आपसी झगडाको क्रममा एकजना कैदीले सुत्न प्रयोग गरिने एउटा गद्दामा झोसेको आगो कारागारमा फैलिएर उनीहरूको मृत्यु भएको हो । कोलम्बियाका अधिकांश जेलमा कैदीको भीडभाड हुने गरेको छ । टोलुआस्थित कारागारमा पनि क्षमताभन्दा बढी बन्दी राखिएको छ ।
कारागारका कर्मचारीले गद्दाबाट फैलिएको आगो निभाउने प्रयत्न गरेका थिए तर त्यो विशालरूपमा फैलिएकाले उनीहरूले अग्नि नियन्त्रकहरूको आगमनको प्रतीक्षा गर्नुपरेको थियो । कोलम्बिया र आसपासका मुलुकका जेलमा घातक दङ्गा हुनु अनौठो होइन ।
सन् २०२० को मार्चमा बोगोटाको पिकोटा पेनिटेनियरीमा भएको दङ्गामा २४ कैदीको ज्यान गएको थियो । उनीहरूले कोभिड–१९ विरूद्ध कारागार प्रशासनले अघि सारेका सुरक्षात्मक उपायको विरोध गर्दा दङ्गा भएको थियो । अघिल्लो वर्ष ब्राजिलको जेलमा भएको घातक दङ्गामा ५० जनाभन्दा बढी मारिएका थिएभने १६ जनाको शिरच्छेदन गरिएको थियो । सन् २०१८ मा भेनेज्वेलाको एउटा कारागारमा अग्निदङ्गा हुँदा कैयौँ हताहत भएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १५:०६
प्रतिक्रिया दिनुहोस्