मल अभाव हुनुमा ठेकेदार दोषी : मन्त्री यादव
काठमाडौं - कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् । उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको पनि बताएका छन् ।
१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज (बुधबार) बिहान आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा मल ल्याउने प्रणाली समेत ठिक नभएको बताए ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताएका छन् । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए ।
अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले जानकारी दिए । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरे जस्तै मल आयात गर्नुपर्ने बताए ।