चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या हुँदा बूढानीलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द
काठमाडौं– बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या हुँदा बूढानीलकण्ठ क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।
चपली सबस्टेसनमा रहेका १०–१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेदेखि समस्या देखिएको हो ।
ट्रान्सफर्मरमा समस्या आउँदा चुनीखेल, टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो ।
नेपाल विद्युत् प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रका अनुसार सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिएको बताए ।
उनका अनुसार समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ । नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सुचारु गर्न टोली परिचालित भएको वितरण केन्दले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:५५
प्रतिक्रिया दिनुहोस्