क्रिमिनल माइण्ड्स अभिनेत्री मेरीको नदीमा डुबेर निधन
लसएञ्जल्स— प्रख्यात अमेरिकी फिल्म तथा टेलिभिजन अभिनेत्री मेरी माराको ६१ वर्षको उमेरमा निधन भएको छ । उनको निधन नदीमा डुबेर भएको हो । यद्यपी प्रहरीेले उनको निधनका सम्बन्धमा अनुसन्धान सुरु गरेको छ ।
मेरी सिरिज ‘क्रिमिनल माइण्ड्स’ फेम्ड अभिनेत्री थिइन् । उनका निधनको खबर सार्वजनिक भएसँगै फ्यान र सेलिब्रेटीहरुले शोक व्यक्त गरेका छन् ।
न्यूयोर्क प्रहरीका अनुसार गत आइतबार मेरीको शव केप विन्सेन्टको स्टीफन लरेन्स नदीमा भेटिएको थियो । उनी नदीमा पौडी खेल्न जाने क्रममा डुबेर मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
प्रहरीले मेरीको शरीरमा कुनै पनि चोट नदेखिएको जनाएको छ । उनका शवलाई प्रहरीले पोस्टमार्टमका लागि नजिकको अस्पतालमा लगेको छ । मेरीका देवर स्कट डेलीका अनुसार मेरी बहिनी मार्थासँग बस्थिइन् ।
मेरीका मेनेजरका अनुसार अभिनेत्री स्वस्थ थिइन् । उनी निकै रमाइलो किसिमको र जुझारु पनि थिइन् ।
सन् १९६० को सेप्टेम्बर २१ मा जन्मिएकी मेरीले थिएटरबाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । माराले सन् १९९२ मा ‘लव पोशन नम्बर ९’बाट हलिउडमा पाइला चालेकी थिइन् । उनी सोही वर्षको ‘मिस्टर सेटरडे नाइट’मा बिली क्रिस्टलकी छोरीको भूमिकामा देखिएकी थिइन् ।
उनले ‘क्रिमिनल माइन्ड्स’का अलावा ‘नेश ब्रिज’, ‘एनवाईपीडी ब्लू’,‘ल एण्ड अर्डर’, ‘लस्ट’, ‘डेक्सटर’, ‘शेमलेस’, ‘एली मेकबील’, ‘फरस्केप’, ‘द वेस्ट विङ’, ‘मन्क’, ‘शेमलेस’, ‘रे डोनोवन’ जस्ता फिल्ममा अभिनय गरेकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:००
प्रतिक्रिया दिनुहोस्