१६ दिनमा तीन पटक मकालु आरोहण
काठमाडौं— आरोही लाक्पा शेर्पाले १६ दिनमा तीन पटक मकालु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । संखुवासभाको मकालु गाउँपालिकामा पर्ने मकालु हिमाल ८ हजार ४ सय ८५ मिटर अग्लो छ । लाक्पाले मकालु हिमालको सन् २०२२ को मे १२, २० र २८ मा सफल आरोहण गरेका हुन् । शेर्पाले सोहि समयमा चौथो पटकको आरोहण भने खराब मौसमका कारण पुरा गर्न नसकी फर्किएको बताए ।
‘चौथो पटकको आरोहण पुरा गर्न सफल बनाउन ३० मिटर बाँकी छँदा मौसमले साथ दिएन र म फर्किन बाध्य भएँ,’ आरोही शेर्पाले भने । उनले आफुले रेकर्डकै लागी नभई आफ्नो गाउँ र ठाउँ चिनाउने उद्देश्यका साथ हिमाल आरोहण गरेको बताए ।
मकालुबासीकै ट्रेकिङ कम्पनी ‘सेभेन समिट ट्रेक्ज् प्रा.लिको सहयोगमा १६ दिनमा तीन पटक मकालु हिमाल आरोहण गर्न सहज भएको र सामान्यतया एक पटक त्यो हिमाल आरोहण गर्न एक महिना भन्दा बढी समय लाग्ने आरोही शेर्पाले बताए ।
हिमाल अरोहणबाट लगातार ख्याति कमाउदै आएका ३० बर्षीय युवा आरोही शेर्पाले एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन् । शेर्पाले २० बर्षको उमेर देखि हिमाल आरोहण गर्दै आएका छन् । उनले हालसम्म ८ हजार माथिका हिमाल १४ पटक पुगी सकेका छन् । उनलाई संखुवासभाका जनताले ‘मकालु लाक्पा’को नाम दिएका छन् ।
लाक्पाले यो भन्दा पहिले मकालु २ पटक, सगरमाथा १ पटक, मनास्लु हिमाल २ पटक, ल्होत्से १ पटक आरोहण गरि सकेका छन्। सेभेन समिट ट्रेकिंगका फिल्ड मेनेजरसमेत रहेका शेर्पाले विश्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक सफल आरोहण गरि सकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:५५
प्रतिक्रिया दिनुहोस्