चीनसँगको नाका सहज गरिदिन आग्रह
काठमाडौँ– नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ ।
बुधबार काठमाडौंमा चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई बिदाई एवं सम्मान गर्दै महासङ्घले केरुङ, तातोपानीलगायतका नाकामा आवतजावतका लागि सहजिकरणका लागि पहल गर्न आग्रह गरेका हुन् ।
सो क्रममा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्यालाई प्राथमिकतामा राख्ने बताए । नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन आफ्नो प्रयत्न हुने उनको भनाई छ । उनले भिसा समस्या समाधानका लागि पनि आफूले छलफल गर्ने जिकिर गरे ।
महासङ्घले चीनबाट आयात गरिने आधिकारिक ब्रान्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजिकरणका साथै व्यवसायीलाई सहज रुपमा भिसाका लागि पनि पहल गरिदिन आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०९
प्रतिक्रिया दिनुहोस्