काठमाडौँका मेयर शाह भन्छन्– कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकार कम गरिन्छ
काठमाडौँ– काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने बताएका छन्।
यसका लागि महानगरपालिका क्रियाशील रहेको उनले बताए। आज असार १५ र राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिँदै मेयर शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरेका छन्।
मेयर शाहले भनेका छन्, ‘काठमाडौंमा बस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्वरता र उब्जनीको ठूलो भूमिका छ। उर्वर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भूमिका छ। हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान् वा कृषि नै सीमान्तकृत हुँदै गएको होला। तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्यायो, उसैलाई बिर्सने भन्ने हुँदैन।’
प्रमुख शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताएका छन्। यसपालिको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस् भनेर शुभकामना सन्देश दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:१५
प्रतिक्रिया दिनुहोस्