बुटवल-नारायणगढ सडक दुईतर्फी खुलाइयो
बुटवल- बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को डाइभर्सन बगाएको स्थानमा नयाँ डाइभर्सन निर्माण गरेपछि उक्त सडकखण्डमा पुनः यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनका अनुसार आज बिहान ५ बजेदेखि सडक पूणर्रुपमा सञ्चालनमा आएको छ ।
‘रातभरि डाइभर्सन निर्माणको काम गर्यौं’, उनले भने, ‘बिहान ३ बजेदेखि एकतर्फी र अहिले दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।’ मङ्गलबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण नवलपुर खण्डको विनयी त्रिवेणी गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएको थियो । डाइभर्सन निर्माण भएपछि सडकमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जान सुरु गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:१६
प्रतिक्रिया दिनुहोस्