देशका धेरै स्थानमा वर्षा, प्रदेश १ मा भारी वर्षा हुने
काठमाडौँ– देशका धेरै स्थानहरुमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार भोलि शनिबार र आइतबारसम्मै वर्षा जारी रहने छ । शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
यस्तै आइतबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।