सर्लाहीमा आठ महिने शिशु मृत फेला, आमा पनि बेहोस
सर्लाही - सर्लाहीमा एक आठ महिने शिशु मृत फेला परेकी छिन् । उनकी आमा पनि बेहोस अवस्थामा भेटिएको प्रहरीको जनाएको छ । सर्लाहीको लालबन्दी नगरपालिका-१७ स्थित राधाकृष्ण मन्दिरको पेटीमा ईश्वरपुर नगरपालिका-५ नरेशपुर बस्ने अन्दाजी २० वर्षीया रमिताकुमारी महतो र उनकी ८ महिनाकी छोरी सृष्टी अचेत अवस्थामा परेका थिए ।
प्रहरीले दुबैको उद्धार गरी प्राथमिक अस्पताल लालबन्दी लगे पनि चिकित्सकले बच्चाको मृत्यु भइसकेको बताएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए । बच्चाको पहिला नै मृत्यु भइसकेको जानकारी दिंदै यादवले आमा पनि बेहोस् अवस्थामा भेटिएकाले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलगंवा पुर्याइएको बताए ।
‘प्रारम्भिक चरणमा बुझ्दा ती महिलाको श्रीमानको मृत्यु भइसकेको जानकारी आएको छ । अन्य के कारण हो त्यो बुझ्दैछु’, डीएसपी यादवले भने । डीएसपी यादवका अनुसार घट्नास्थलमा राइनो-५०० र लिपर लेखिएको बिषादीको बट्टा फेला परेको छ ।