Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई श्रीलंकासँग जोड्न हुँदैन, अहिले नै त्यस्तो अवस्था छैन : पूर्व गभर्नर क्षेत्री

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपाललाई श्रीलंकासँग जोड्न नहुने भन्दै तत्काल त्यस्तो परिस्थिति नरहेको बताएका छन् ।

काठमाडौंमा आज (शुक्रबार) आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व गभर्नर क्षेत्रीले श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको बताए । श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति आएको उनले बताए । पूर्व गभर्नर क्षेत्रीले नेपालले भर्खरै पालिका चुनाव सम्पन्न गरेको र अब सङ्घ र प्रदेशको चुनाव गर्ने तयारीमा रहेकाले श्रीलङ्कासँग जोड्न नहुने बताए ।

पूर्व गभर्नर क्षेत्रीले भने, ‘नेपालको अर्थतन्त्र धेरै परिस्थितिले श्रीलङ्का हुने स्थिति छैन । तर राजनीतिक अधिकार सीमित मान्छेलाई दिइयो भने कुनै समयमा हुन सक्छ भन्ने कुरा श्रीलङ्काबाट सिक्न सक्छौँ । त्यहाँ वंशीय रूपमा राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री एउटै परिवारको भएपछि हामी नै राज्य भन्ने कुरा भयो । उनीहरूले आफूहरूले ल्याएको कुरामा कसैले चुनौती दिन सक्दैन भनेपछि आयकरको दायरा घटाए, भ्याट पनि १५ प्रतिशतबाट आठ प्रतिशतमा झारे । आम्दानीको स्रोतहरू घट्यो । खाद्य आयात गर्न रोके । उत्पादन नहुँदा आयात गर्नुपर्ने भएपछि विदेशी मुद्राको सञ्चिति घट्दै गयो । ब्याज जस्तोसुकै भए पनि विदेशी ऋण ल्याइरहने भएकाले यस्ता कुराले श्रीलङ्कालाई गाँजेको हो । आवश्यकभन्दा बाहिरका वस्तुहरू प्रधानमन्त्रीको जोडबाट आयात भइरहेको भन्ने हल्ला आएको छ । त्यस्तो रह्यो भने हामी पनि श्रीलङ्काको अवस्थामा जान सक्ने सम्भावना रहन्छ ।’

पूर्व गभर्नर क्षेत्रीले विदेशी मुद्रामा नेपालको जम्मा सम्पत्ति, एसडीआर र जम्मा गरेको सुनको समेत हिसाब गर्दा सात महिनाको आयात धान्न सक्ने अवस्था रहेको बताएका छन् । यसैबीच उनले राष्ट्र बैंकले ल्याउने आउँदो मौद्रिक नीति अपेक्षाकृत नहुने बताए । राष्ट्र बैंकले ल्याउने आउँदो मौद्रिक नीति विगतको जस्तो विस्तारकारी आउनेमा उनको शङ्का छ । बैंकहरूले उद्योगको क्षमता विस्तार गर्न दिएको कर्जा आयात गर्न प्रयोग भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:३५
प्रतिक्रिया दिनुहोस्