वर्षातमा उनी रुझ्दा...
काठमाडौँ– २०५६ सालताका गीतकार श्रीपुरुष ढकाल राष्ट्रिय अनुसन्धान विभागको पोखरा क्षेत्रीय प्रमुख थिए । छिनमा घाम र छिनमै पानी पर्ने पोखरामा एक विहान उनी विन्ध्यवासिनीबाट आफू बस्ने सिर्जना चोकतर्फ फर्कदै थिए । तर, मालेपाटन पुग्नासाथ पानी पर्यो ।
पानीबाट जोगिन ओत लागिरहँदा उनकै अगाडिबाट कलेजका छात्राहरु भिज्दै हिँडेको देखे । सेतो सर्ट र हल्का निलो पाइन्टमा रहेका उनीहरु भिज्दै हिँडेको देखेपछि उनीभित्रको गीतकार सक्रिय भयो र गीत फुर्यो– वर्षातमा उनी रुझ्दा, झरी बनुँ लाग्यो केशबाट तप्प चुहिने, पानी बनुँ लाग्यो मलाई, पानी बनुँ लाग्यो ।
‘त्यो माहोल रोचक थियो । कलेजबाट पानीमा भिज्दै फर्केका ती नानीहरुको कपालबाट ‘तप्प तप्प’ पानी चुहिँदै बगिरहेको थियो । त्यहीबेला झट्ट दिमागमा गीत फुर्यो’, श्रीपुरुष सम्झछन्, ‘त्यो गीत मनमा जप्दै जप्दै कोठामा आएर कापीमा उतारें । पछि रामकृष्ण ढकालजीले ‘दाईको गीत गाउनुपर्यो’ भनेपछि मैले उहाँलाई तीन चारवटा गीत दिएँ । तर उहाँले वर्षातमा उनी रुझ्दा नै मनपराउनु भएछ ।’
रामकृष्णले यो गीत संगीतकार टिका भण्डारीलाई संगीत गर्न दिए । उनको भनाईमा निकै छोटो समयमा यो गीत तयार भएको थियो । यो गीत वर्षातको महिनामा रेडियोमा खुबै बज्छ ।
गायक नवीन के भट्टराईले गाएको ‘ए झरी’को लोकप्रियता पनि बर्षौँदेखि उत्तिकै छ । खासगरी पानी पर्नासाथ धेरैको मुखमा यो गीत फ्याट्ट आइहाल्छ । यो गीत डा. अरुण सायमीले २०३४ सालताका लेखेका हुन् । जुन समयमा उनी अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्थे । उनले यही समयमा फिल्म ‘छोरा’को गीत ‘वर्षा तिमी छम छम’ पनि लेखेका थिए । संयोगले यी दुवै गीत ‘हिट’ भए ।
‘यी गीतहरू उपन्यास ‘मर्दीको किनारा’मा राखेको थिएँ । त्यो उपन्यास संगीतकार शम्भुजित बाँस्कोटालाई उपहारस्वरुप दिएँ’, अरुण सम्झन्छन्,‘शम्भुजितले त्यो उपन्यासबाट पहिला ‘वर्षा तिमी छम छम’ गीत फिल्म ‘छोरा’का लागि कम्पोज गरे । त्यो गीत हिट भएपछि उसकै सुझावमा एलबममा ‘ए झरी’ समेट्यौं ।’
यो गीत रेकर्डको अर्को किस्सा छ । एकदिन नवीनकी आमा बिरामी भएर डा. सायमीसँग स्वास्थ्य परीक्षण गराउन पुगेकी थिइन् । त्यहीबेला नवीनकी आमाले छोरालाई एउटा गीत दिन आग्रह गरेकी थिइन् ।
‘नवीनले यो गीत दुईपटक गाए, अनि म सक्दिन भनेर भागे । किनकी नवीनलाई आफ्नै कम्पोजमा गीत गाउने बानी थियो । पछि आमाले गाली गरेर उनलाई ल्याएपछि तेस्रो पटकमा गीत रेकर्ड भयो’, अरुण भन्छन्, ‘गीत रेकर्ड गरेपछि नवीनले मलाई ‘साँझ पख’ पछि सबैभन्दा बढी गाह्रो भएको गीत यही हो भनेर मलाई भनेको थियो’ डा. सायमीले क्यानडा नेपालसँग भने ।
रेखा शाह र प्रेमराजा महतको स्वर रहेको ‘सिमसिमे पानीमा’ गीत बर्षौँसम्म नेपाली गीत जगतमा ‘हिट’ हो । यही गीतमार्फत रेखाले २०४९ सालमा रेडियो नेपालले गरेको राष्ट्रिय लोकगीत प्रतियोगितामा प्रथम पुरस्कार पाइन् ।
‘मैले यो गीत चैत महिना ताका तयार पारेकी हुँ । यो भाका गाउँघरमा निकै प्रचलित थियो । गाउँमा एकजना दाईको विवाहको रत्यौलीमा यो गीत सुनेकी थिएँ । यसको लय मनपरेपछि आफैंले शब्द लेखेर तयार गरेँ । मलाई यसको भाकाले छोएको थियो’, शाह भन्छिन्, ‘पानी परेको बेला यो गीतको निकै याद आउँछ ।’
रेखा चाँडै नै यो गीतको रिमेक भर्सन ल्याउने तयारीमा छिन् । चाँडै नै मुम्बईको उत्कृष्ट स्टुडियोमा यो गीत रेकर्ड गराउने उनी बताउँछिन् ।
गायक महेश काफ्लेको गीत ‘असारै महिना सिमसिमे पानी’ पनि पछिल्लो समय उत्तिकै चलेको गीत हो । गीतमा उनकै शब्द र संगीत छ । ‘असार–साउनको महिनामा सिन्धुली घरको झ्यालमा बसेर यो गीत लेखेको हुँ । यस्तो गीत लेख्दा अलिक रोमान्टिक भावमा थिएँ । त्यही भावलाई गीतमा प्रस्तुत गरें’, महेश भन्छन् । उनले यो गीत झण्डै ६ वर्ष अघि तयार पारेका हुन् ।
यसबाहेक छुजन डुक्पा शेर्पाको र पछि प्रशान्त तामाङको श्वरमा रेकर्ड गरिएको ‘असारै महिनामा’ नारायण गोपालको ‘साउने झरी बनी’, प्रमोद खरेलको ‘यो झरीमा तिमीसँग’, मेलिना चित्रकारको ‘कहाँबाट आयो’, अल्मोडा राना उप्रेतीको ‘पानी पर्यो असिना झर्यो’ लगायतका गीत पनि लोकप्रिय छन् । झरीको मौसममा यस्ता गीतहरुको सम्झना र सान्दर्भिकता झनै बढ्ने गरेको छ ।