रुसद्वारा युक्रेनमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा २१ जनाको मृत्यु
किभ - युक्रेनमा रुसले फेरि क्षेप्यास्त्र आक्रमण गरेको छ। युक्रेनमा पछिल्लो समय लगातार रुसले आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको बताइएको छ ।
देशको ओडेसा क्षेत्रमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र आक्रमण हुँदा त्यहाँ रहेका २१ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनामा परी अन्य केही घाइते भएका र उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ ।
सेर्हीभ्का भन्ने ठाउँमा रहेको नौ तले भवनमा आक्रमण भएको र उक्त भवनमा झण्डै एक सय जना बस्दै आएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त भवन अहिले क्षतिग्रस्त भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति १ बजे आक्रमण भएको हो । घटनास्थलमा उद्दार तथा खोजी कार्य भइरहेको अधिकारीहरूले जनाएका छन् ।
तर, रुसी अधिकारीहरूले भने आक्रमण नभएको भन्दै खण्डन गरेका छन् । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री एस पेस्कोभले शुक्रबार भएको भनिएको आक्रमण पनि अस्वीकार गरेका छन्। कुनै स्थानीय बासिन्दा वा भौतिक संरचनालाई लक्षित गरेर आक्रमण गर्ने आफूहरूको योजना नरहेको उनको दावी छ ।
गत फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । आक्रमणका कारण ठूलो जनधनको क्षति भएको छ भने आर्थिक तथा राजनीतिक रुपमा विश्वभरि नै असर परेको छ । रासस/एएनआई