Nic Ad Nic Ad
Nic Ad Nic Ad

राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान

शुक्रबार, मंसिर ९, २०७९

पाँचथर - राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा प्रेस स्वतन्त्रता सेनानी सम्मान-२०७८ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पाँचथरले बर्षेनि प्रदान गर्दै आएको सम्मानबाट यस वर्ष राससका अध्यक्ष झा सम्मानित भएका हुन् ।

शाखाले आज पाँचथरको फिदिममा आयोजना गरेको सम्मान तथा पुरस्कार अर्पण समारोहमा अध्यक्ष झालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सम्मानपत्र, दोसल्ला तथा नगद पुरस्कारसहित सम्मान गरे । उक्त सम्मान पुरस्कारको राशि रु ३३ हजार ३३३ रहेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्वध्यक्ष समेत रहेका झाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पुर्‍याएको योगदानको कदर गर्दै शाखाले उक्त सम्मान प्रदान गरेको शाखा अध्यक्ष गिरिराज बाँस्कोटाले जानकारी दिए ।

सम्मानपछि अध्यक्ष झाले उक्त सम्मानले आफूलाई पुनः जिम्मेवारीबोध गराएको बताए । पत्रकारले प्राप्त गर्ने सबै सम्मान तथा पुरस्कारले पेशामा आबद्ध भई समाजको हितमा काम गरिरहन थप ऊर्जा, हौसला र प्रेरणा प्राप्त हुने उल्लेख गर्दै अध्यक्ष झाले उक्त सम्मानले आफ्ना लागि ठूलो महत्व राख्ने बताए । पत्रकारले समाजको हितका लागि कार्य गर्ने भएकाले समाजले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष झाले पत्रकार आचारसंहिता र स्वअनुशासनमा रहनु अपरिहार्‍र्य रहेको बताए ।

पत्रकारितालाई थप विश्वासनीय र मर्यादित बनाउँदै खबरदारी गर्ने मुख्य जिम्मवारी पूरा गर्न निरन्तर लागिरहनु आवश्यक रहेको अध्यक्ष झाको भनाइ थियो । विसं २०२३ चैत ४ गते सिरहाको लहान नगरपालिका-१४ मा जन्मिएका झाले २०४३ देखि पत्रकारिता थालेका हुन् । तीन वटा विषयमा स्नातकोत्तर गरेका झाले ५० वटाभन्दा बढी सङ्घसंस्थामा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रिय सहभागिता समेत जनाएका उनले १७ अवार्ड प्राप्त गरेका छन् । उनी गोरखापत्र राष्ट्रिय दैनिकको नियमित स्तम्भकार समेत हुन् ।

नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका पूर्व सभापति लवदेव ढुङ्गानालाई दोस्रो जनआन्दोलनका क्रममा गैरकानूनी थुनामा राखिएको भन्दै जिल्ला अदालतले क्षतिपूर्ति दिन आदेश दिएको थियो । ढुङ्गानाले ५१ दिन गैरकानूनी थुनामा रहेबापत प्राप्त गरेको रु ३० हजारबाट उक्त पुरस्कार स्थापनाको सुरुआत भएको थियो । विसं २०६९ मा स्थापित पुरस्कार २०७२ सालदेखि प्रदान गरिँदै आएको छ । उक्त पुरस्कारबाट यसअघि वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, किशोर नेपाल, विष्णु निष्ठुरी, शिव गाउँले र डा. महेन्द्र विष्ट सम्मानित भइसकेका छन् ।

कार्यक्रममा चालु आर्थिक वर्षमा उत्कृष्ट फोटो प्रकाशन गर्ने राष्ट्रिय समाचार समितिका पाँचथर संवाददाता रवीन्द्र काफ्ले र उत्कृष्ट खोजमूलक समाचार प्रकाशन गर्ने कान्तिपुर मिडिया ग्रुपका लक्ष्मी गौतमलाई जनही रु पाँच हजार नगद तथा प्रशंसापत्रसहित पुरस्कृत गरिएको छ ।

यस्तै नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाले प्रदान गर्ने हरिचरण-भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका पाँचथर संवाददाता खबिन लुइँटेल र प्रजापति-जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका पाँचथर संवाददाता विजयबोध लावती पुरस्कृत भएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:४०
प्रतिक्रिया दिनुहोस्