कलाकर्मी डाइजेष्टको कलाकर्मी सम्मान
काठमाडौं– कलाकर्मी मिडिया म्यानेज्मेन्टले पाँच व्यक्तिलाई सम्मान गरेको छ । पत्रिकाले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को सार्वजनिक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौलालगायतले पत्रिका सार्वजनिक गरे ।
कार्यक्रममा कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको थियो ।
उपमेयर डंगोलले छापामाध्यमको गति कम भइरहेको अवस्थामा प्रकाशनमा आएको पत्रिकाले समाजलाई नयाँ दिशा दिने दाबी गरिन् । उनले सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौंलाई एक वर्षभित्रै सुन्दर नगरको रुपमा विकसित गर्ने योजना रहेको सुनाइन् ।
सम्मानित कलाकार शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासित रुपमा सम्मानित हुन पाउँदा सधैं गौरवको महसुस हुने बताए । अर्का सम्मानित कार्कीले निकै दुःख गरेर असहाय तथा टुहुरा बालबालिकाहरुको लालनपालनमा आफ्नो जीवन समर्पण गरेको व्यक्तिलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । कलाकर्मी मिडिया म्यानेजमेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल छिन् । ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ ।
पत्रिकामा राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको प्रकाशक भट्टराईले बताए । पत्रिकाकी सम्पादक बबिता ढकालले छापा माध्यमको महत्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको बताइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्