दोलखामा बस दुर्घटना हुँदा चालकसहित २२ जना घाइते
काठमाडौँ – काठमाडौँबाट दोलखाको मैनापोखरीतर्फ जाँदै गरेको बस आइतबार दुर्घटना हुँदा चालकसहित २२ जना घाइते भएका छन्।
दुर्घटनामा शैलुङ गाउँपालिका–३ का ३८ वर्षीय पदमबहादुर श्रेष्ठ (चालक) गम्भीर घाइते भएका छन् भने सामान्य घाइते २१ जनाको सदरमुकाम चरिकोटस्थित पशुपति स्मृति अस्पतालमा उपचारपछि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
काठमाडौँबाट मैनापोखरी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको यात्रुवाहक बसमा सवार शैलुङ गाउँपालिका–२ का ५६ वर्षीय इन्द्रबहादुर तामाङ, बैतेश्वर गाउँपालिका–६ नाम्दुका ३३ वर्षीय दीपक तामाङ, बैतेश्वर–७ मार्बुका २६ वर्षीया देवी खड्का, २० वर्षीया शीला श्रेष्ठ, क्षेत्रपा–८ की २६ वर्षीया सावित्रा बस्नेत र ३० वर्षीया विजय बस्नेत सामान्य घाइते भएका हुन्।
चरिकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ७४६३ नम्बरको यात्रुवाहक बस सवार भीमेश्वर नगरपालिका–८ बोचका २७ वर्षीया रामबहादुर भुजेल र ५२ वर्षीया गंगा देवी भुजेल, मेलुङ २ का २५ वर्षीया बाबुराम कार्की, बैतेश्वर–७ का १८ वर्षीय अविषेक नेपाली, रामेछापका ८४ वर्षीय नरबहादुर खड्का, कालिञ्चोक गाउँपालिका–३ का ३५ वर्षीय तीर्थबहादुर थामी, बैतेश्वर गाउँपालिका–८ की ४० वर्षीया शोभा भुजेल, २६ वर्षीया बबिता खड्का, ३० वर्षीया शान्ति श्रेष्ठ, बैतेश्वर ७ का २४ वर्षीय जीवन भण्डारी, २१ वर्षीय भुवन खत्री, बिगु गाउँपालिका–२ का ६३ वर्षीय भक्तबहादुर केसी, गौरीशंकर गाउँपालिका–५ का ४३ वर्षीय सांगिमा शेर्पा, ४५ वर्षीया डुक्लुमा शेर्पा, भीमेश्वर नगरपालिका–६ चोथाङकी २३ वर्षीया युनु तामाङ घाइते भएका छन्।
काठमाडौँबाट मैनपोखरीतर्फ जाँदै गरेको यात्रुवाहक बस र सदरमुकाम चरिकोटबाट काठमाडौँ आउँदै गरेको बस भीमेश्वर नगरपालिका– ८ बोचघुम्तीमा आइतबार दिउँसो दुर्घटना भएको थियो।