तेह्रथुम ढाका कपडाको राजधानी घोषणा
तेह्रथुम– सरकारले तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरेको छ ।
सदरमुकाम म्याङ्लुङ्गमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले म्याङ्लुङ्ग नगरपालिकासँग संयुक्त कार्यक्रम गर्दै तेह्रथुमलाई ढाका कपडाको राजधानी घोषणा गरेको हो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले म्याङ्लुङ्ग नगरपालिकाका मेयर सञ्जय तुम्बाहाम्फेलाई राजधानी घोषणाको ताम्रपत्र प्रदान गरेका थिए । कार्यक्रममा जिल्लाका सबै सथानीय तहका प्रमुख तथा उपप्रमुख उपस्थित थिए । यसअघि लुम्बिनी प्रदेशको पाल्पालाई पनि ढाकाको राजधानी घोषणा गरिएको थियो ।
कार्यक्रममा उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले नेपालको व्यापार घाटा कम गर्न, स्थानीय उत्पादनलाई निर्यातमूलक बनाउन र ढाकाको औद्योगिक परिणाम उत्पादन गरेर सीप, पूँजी र प्रविधिमा विकास गर्न राजधानी घोषणाले महत्वपूर्ण अर्थ राख्ने बताए । उनले गुरुयोजना नै बनाएर ढाकाको अनुुसन्धानमा केन्द्रित हुन तेह्रथुमका सबै ६ वटै पालिकाका प्रमुखलाई आग्रह गरे ।
जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरेपछि व्यवसायी उत्साहित भएको र यसले तेह्रथुमे ढाकालाई देश विदेशमा प्रवद्र्धन गर्न सहयोग पुग्ने आशा लिएको ढाका उत्पादक समाज तेह्रथुमका संस्थापक अध्यक्ष भीम ल्वागुनले बताए ।
उनका अनुसार जिल्लामा अहिले ६० वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेको र ती उद्योगले वार्षिक १० करोड हाराहारीको ढाका कपडा निर्यात गर्ने गरेका छन् । २०३८ सालदेखि नै व्यवसायिक रुपमा तेह्रथुमे ढाका कपडाको उत्पादन शुरु भएपनि २०५१ सालपछि यसको उत्पादन व्यापक भएको अध्यक्ष ल्वागुनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:५५
प्रतिक्रिया दिनुहोस्