Nic Ad Nic Ad
Nic Ad Nic Ad

चर्को महशुलले विपन्नलाई पानी पिउनै सकस

शुक्रबार, मंसिर ९, २०७९
गुल्मी — गुल्मीको रेसुङ्गा नगरपालिका – ४ अर्खलेबासीले घरमा धारा जडान भएपनि खानेपानीको समस्या झेल्नु परिरहेको छ । पानीको समस्या समाधानका लागि सरकारले लिफ्ट प्रविधिमार्फत खानेपानी सुविधा उपलब्ध गराएपनि विद्युतको महशुल महंगो हुँदा विपन्न परिवार मर्कामा परेका छन् । सरकारले लिफ्टिङ प्रविधिमार्फत अर्खलेबासीको घर घरमा खानेपानीको धारा पुर्‍याएको छ । स्थानीयको घरआँगनकै धारामा पानी आएपनि विद्युतको महशुल चर्को हुदाँ आर्थिक अवस्था कमजोर भएका परिवार खानेपानी सुविधाबाट बञ्चित हुनु पर्ने अवस्था आएको छ । महंगो बिजुली शुल्कका कारण पानीमा समेत महंगीको मारमा परेको उनीहरुको गुनासो छ । लिफ्टिङ प्रविधिमार्फत पानी तान्न विद्युतको आवश्यकता पर्दछ । विद्युत महशुल महंगो हुँदा पानीको शुल्कसमेत धेरै तिर्नु पर्ने भएकाले त्यसको असर विपन्न परिवारमा परेको हो । दुई वर्षअघि लिफ्टिङ परियोजनाबाट आगनकै धारामा पानी आउँदा धेरै खुसी भएका उनीहरु अहिले भने निराश बनेका छन् । उनीहरुको खुसी धेरै समय टिक्न पाएन । न्यूनआय भएका विपन्न परिवारलाई खानेपानीको विद्युत महशुल तिर्न समेत गाह्रो भएको खानेपानीका उपभोक्ता यमलाल भण्डारीले बताए । केन्द्र र प्रदेश सरकारको ५३ लाख आर्थिक सहयोगमा लिफ्ट प्रविधिमार्फत रेसुङ्गा नगरपालिका – ४ सेउघाका ३७ घरधुरीमा खानेपानीको धारा पुप्याईएको छ । खानेपानी आयोजनामार्फत धारा निर्माणले सहज भएपनि खानेपानीको चर्को महशुलमा केही सहुलियत हुनुपर्ने उपभोक्ता तामलाल भण्डारी बताउँछन् । मिस्त्री तथा अन्य व्यवस्थापन खर्चबाहेक पाँच युनिट खानेपानी प्रयोग गरेवापत उपभोक्ताले मासिक २ सय ५० रुपैयाँ र्तिदै आएका छन् । चर्को महशुलका कारण उपभोक्ता मर्कामा परेको र महशुल छुट गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने रैदी पाण्डे भण्डारी लिफ्टिङ्ग खानेपानी उपभोक्ता समितिका अध्यक्ष चुरामणी भण्डारीले बताए । रेसुंगा नगरपालिका ४ का वडाध्यक्ष लिलाधर आर्चायले खानेपानीको धारा पुगेर पनि शुल्कका कारण समस्यामा परेका जनतालाई राहत दिने प्रतिबद्धता जनाएका छन् । साथै उनले तत्काल समस्या समाधान गर्ने तयारीमा स्थानीय सरकार रहेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२३
प्रतिक्रिया दिनुहोस्