दोखकी दिया भन्छिन्—हिरोसँग रोमान्टिक हुने अवसर पाइनँ
काठमाडौं— अभिनेत्री दिया मास्केले फिल्म ‘कागबेनी’बाट फिल्मी अभिनयमा पाइला चालिन् । पहिलो फिल्मपछि आगामी शुक्रबारबाट प्रदर्शन हुन लागेको फिल्म ‘दोख’ र भदौ १० गतेबाट प्रदर्शन हुने फिल्म ‘प्रकाश’ सम्म आइपुग्दा उनले आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् ।
‘कागबेनी’ पछि ‘एकदिन एक रात’, ‘सुनगाभा’, ‘साँघुरो’, ‘फिटकिरी’, ‘होस्टल रिटनर्स’सम्म आइपुग्दा उनलाई दर्शकले कमैमात्र रोमान्टिक मुडमा देखेका छन् । प्रेमकथाका व्यावसायिक फिल्ममा दियालाई काम गर्न मन नलागेको होइन । तर उनकै भनाईमा निर्माता र निर्देशक तथा कास्टिङ डिरेक्टरले उनलाई पत्याउन सकेका छैनन् ।
‘सुरुवाती फिल्मबाट गम्भीर र फरक चरित्रमा अभिनय गरियो । म राम्रो डान्सर हो । मलाई पनि हिरोसँग डाँडाकाँडामा नाँच्न मन लाग्छ । तर फिल्ममा हिरोसँग रोमान्टिक हुने अवसर पाइनँ’, ‘दोख’मा रुक्की चरित्रमा देखिएकी दिया भन्छिन्,‘मलाई नाँच्न सजिलो लाग्छ । मैले कैयौं पटक निर्देशक, निर्माताहरुलाई पनि मलाई रोमान्टिक अथवा कमेडी फिल्ममा लिनुहोस् भनेको छु । तर उहाँहरु मेरो कुरा पत्याउँदैनन् । किनकी जहिल्यै गम्भीर चरित्रमै लिइयो, हल्कामा पनि फिट छु भन्ने कुरालाई गम्भीर रुपमा लिइएन ।’
सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा निर्माण गरिएको फिल्म ‘दोख’मा अनुप बरालको निर्देशन छ । फिल्ममा दीयासँगै, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:५६
प्रतिक्रिया दिनुहोस्