चौधरी ग्रुपले भन्यो : बजेट निर्माण प्रक्रियामा संलग्न भएको पुष्टि गरे कारबाही भोग्न तयार
काठमाडौँ– चौधरी ग्रुपले बजेट निर्माण प्रक्रियामा आफ्नो संलग्नता रहेको भनी समाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचार तथा सामग्रीहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज फेसबुकमार्फत आफूहरुमाथि लागेको आरोपको खण्डन गरेका हुन् ।
‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरुप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’ उनले लेखेका छन्, ‘बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहन्छु ।’
उनले चौधरी ग्रुपमाथि लगाइएको आरोप खेदजनक रहेको बताउँदै आरोपको पुष्टि गर्न पनि चुनौती दिएका छन् । सम्बन्धित निकायलाई छानविन गर्न आग्रह गर्दै प्रबन्ध निर्देशक चौधरीले यस मामिलामा आफूहरुको कहीँकतै संलग्नता पुष्टि भए कारबाही भोग्न तयार रहेको बताएका छन् ।
उनले यदि चौधेरी ग्रुपको संलग्नता पुष्टि नभएको खण्डमा मिथ्या आरोप लगाउनेहरु कारबाही भोग्न तयार रहने आफ्नो अपेक्षा रहेको उल्लेख गरेका छन् ।