युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्न आग्रह
काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्न आग्रह गरेका छन् ।
उनले नेपालका लागि संयुक्त अरब इमिरेटस (युएई) का राजदूत साइद अल नक्विलाई यस्तो आग्रह गरेका हुन् ।
राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न आज मन्त्रालय पुगेका थिए ।
उनीहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मुजबुद् बनाउने विषयमा छलफल भएको छ । युएईमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजीकरण गर्ने विषयमा पनि उनीहरू बीच छलफल भएको छ ।
मन्त्री कुँवरले राजदूत नक्विलाई युएईबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा समन्वय गरेर अगाडी बढ्ने जानकारी गराएका थिए। साथै उनले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरूलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इन्जिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरेका छन् ।
उनले केही समयपछि युएईका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी समेत गराए। युएईका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताए ।
युएईका राजदूत नक्विनले आफूलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०६
प्रतिक्रिया दिनुहोस्