श्रीलङ्कामा औषधिको मूल्य आकासियो, झन् बढ्दै अभाव
कोलम्बो–आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ ।
सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ ।
जीएमओए सञ्चार समितिका सदस्य डा प्रसाद कोलाबेजले बजारमा केही औषधिहरूको अभाव देखिएपछि औषधी किन्न अस्पताल पुग्ने नागरिकहरूको भीड देखिन थालेको छ ।
कोलाबेजले भने, “पहिले निजी फार्मेसीबाट औषधि खरिद गर्ने अधिकांश मानिस सरकारी अस्पतालमा पुग्ने गरेका छन् । उनीहरूले अस्पतालमा पुग्न यातायातका साधन नपाएर कठिनाइहरूको पनि सामना गरिरहेका पाइएकोे छ ।
औषधि दिने अस्पतालहरु सीमित भएको भन्नु पर्ने अवस्था आउनु दुर्भाग्य हो ।”
“यसअघि अस्पतालले एक महिनादेखि बिरामीका लागि पर्याप्त मात्रामा औषधि दिने गरेको थियो । तर, यसलाई घटाएर पछि दुई सातामा मात्रै सीमित गरिएको थियो । औषधि व्यवस्थापनमामिला हेर्ने निकायले त्यसलाई पनि घटाएर एक हप्ताका लागि मात्र दिन सकिने भएको छ । अहिले यो एक हप्तासम्म सीमित छ ।”
स्थानीय सञ्चारमाध्यमका अनुसार डलरको सङ्कटसँगै देखिएको आर्थिक सङ्कटका कारण धेरै औषधि तथा मेडिकल आयातकर्ताले औषधि आयात गर्न छाडेका छन् ।
डलर अभाव र आर्थिक सङ्कटका कारण कतिपय आयातकर्ताले औषधि आयात गर्न पूर्णतया बन्द गरेका कारण मुलुकको चिकित्सा क्षेत्र पनि प्रभावित बनेको हो ।
विशेष गरी, श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक संकटको सामना गर्दै आएको छ । यसले गर्दा राष्ट्रभरि खाद्य, औषधि, खाना पकाउने ग्याँस र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ ।
विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भएपनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो ।
श्रीलङ्काको कुल वैदेशिक ऋणमध्ये सन् २०२६ सम्ममा करिब २५ अर्ब अमेरिकी डलर चुक्ता गर्नुपर्ने शर्तको पालना गर्दै देशले यस बर्ष करिब सात अर्ब अमेरिकी डलर वैदेशिक ऋण चुक्ता गरिरहेको छ । आर्थिक संकटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:४६
प्रतिक्रिया दिनुहोस्