स्वीट्जरल्यान्ड सम्झाउने ओलाङ्चुङगोला, राराझैँ रमाइलो सिङ्जेमा ताल
ओलाङ्चुङगोला, ताप्लेजुङ- संसारमै अनुपम प्राकृतिक सुन्दरताको कुरा गर्नुपर्दा मानिसको मुखबाट फुत्किहाल्ने नाम हो स्वीट्जरल्यान्ड । तर स्वीट्जरल्यान्ड जाने अवसर सबैले पाउँदैनन् । देशभित्रका सुन्दर ठाउँहरूको नाम लिँदा धेरैले नछुटाउने नाम हो रारा ताल । तर रारा पुग्न पनि धेरै नेपालीले पाएका छैनन् । यसका विविध कारण छन् नै । नेपाल एउटा यस्तो देश हो जहाँ अनेकौ यस्ता सुन्दर ठाउँ छन् । जहाँ पुग्दाको आनन्द जति महसुुस गर्न सकिन्छ, त्यसको थोरै मात्र बताउन सकिन्छ । यस्तै मध्येको क्षेत्र हो ताप्लेजुङको ओलाङ्चुङगोला र सिङ्जेमा ताल ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका क्षेत्रफलको हिसाबले नेपालको तेस्रो ठूलो पालिका हो । प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै धनी यो पालिकाका सम्भावनायुक्त धेरै ठाउँ चर्चामा आउनै सकेका छैनन् । कतिपय स्थानमा सञ्चार र यातायातको पहुँच पुग्न नसकेका कारण पनि यहाँ पर्यटकीय र अन्य सम्भावनाहरू अझै ओझेलमै परिरहेका छन् ।
ओझेलमै रहेको एक ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सिङ्जेमा ताल र नेपाल चीन जोड्ने टिप्ताला भञ्ज्याङको यात्राका लागि केही दिन अघि हाम्रो टोली निस्किएको थियो। टिप्ताला नेपाल चीन जोड्ने सबैभन्दा छोटो नाका पनि हो ।
यात्राको पहिलो दिन फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोकबाट दिउँसोको १२ बजेतिर हिँडेर इलाडाँडामा पुग्यौं । भोलिपल्ट बिहानै इलाडाँडाबाट हामी ओलाङ्चुङगोलातर्फ अघि बढ्यौँ । बाटोमा कुनै होटल त के घर नै नभएकाले आफुलाइ चाहिने खानेकुरा साथमै बोकेका थियौँ ।
घडीमा बेलुकीको ६ बज्दै गर्दा हामी ओलाङ्चुङगोला पुग्यौँ । जसलाई गोलामात्र पनि भनिन्छ । यात्रामा पालिका उपाध्यक्ष रविन साम्रा लिम्बू, ओलाङ्चुङगोलाका वडा अध्यक्ष छेतेन लामा, पालिकाका इन्जिनियर तथा पालिकाकै पञ्जिकरण शाखाका २ कर्मचारी र म थियौँ ।
गोलामा स्थानीयबासिन्दाले पाहुनालाई भोटे चिया दिएर न्यानो स्वागत गरेपछि हामी बस्ने होटलतिर लाग्यौं । गोलाको भव्य स्वागत पछि भोलिपल्ट दिउँसो १ बजेतिर हाम्रो यात्रा टिप्ताला भञ्ज्याङतर्फ लम्कियो । गोलाबाट हाम्रो यात्रामा सशस्त्र प्रहरी बिओपीका इन्स्पेक्टर अनिल खड्का र त्यहाँका स्थानीय एकजना नागरिक ।
चीनतर्फबाट निर्माण गरिएको सडक अनि खोलाको गड्तिरै गड्तिर हुँदै हामी बेलुकीको ६ बजे ४२०० मिटर उचाइमा रहेको मौवाटार बिओपीको नवनिर्मित भवन पुगेर बस्यौँ । उचाइका कारण श्वास फेर्न केही समस्या भएजस्तो लागेपनी बिहानसम्ममा सामान्य नै लाग्यो । त्यसपछि तय भयो ५१०० मिटर उचाइको टिप्ताला भञ्ज्याङ् नाकाको यात्रा ।
बिहान खाजा खाएर अघि बढेका हामी गोठहरुमा कहिले दूध चिया त कहिले भोटे चिया खाँदै मध्यान्ह १२ बजेतिर ५१०० मिटर उचाइमा रहेको नेपाल चीन सिमाना टिप्ताला भञ्ज्याङ् पुग्न सफल भयौँ । थकाइ भन्दा पनि उचाइका कारण श्वासप्रश्वासमा निकै समस्या भयो । त्यहाँ धेरैबेर बस्न सक्ने स्थिति नभएपछि हामी फर्कियौँ । त्यो दिन मौवाटारमै बस्ने गरि हामी ओरालो झर्यौँ।मौवाटारमा रमाइलो गरि आरामका साथ रात कटाएपछि भोलिपल्ट हामी लाग्यौँ ४७०० मिटर अग्लो सिङ्जेमा तालतर्फ । अघिल्लो दिन पुगेको ५१०० मिटर उचाइको तुलनामा कम उचाइमा जाने हुँदा यात्रा केही सहज भयो । झरि पर्ने बर्खा याम भएपनि हाम्रो यात्रामा प्रकृतिले सोचेभन्दा पनि राम्रोगरि साथ दियो । पानी पर्ने मौसममा पनि झलमल्ल घाम लागेको देख्दा लाग्थ्यो घाम पनि हामी पुगेकोमा खुशीले गद्गद छ।प्रकृतिसँग रमाउँदै रमाइलो गर्दै, बेलाबेला थकाइ मार्दै हामी मध्यान्ह १२ बजेतिर सिङ्जेमा तालमा पुग्यौँ । कुनै मानवनिर्मित साधनले नछोएको यो ठाउँ पुग्दाको आनन्द शब्दमा बयान गरेर सकिँदैन नै । देशमा यति सुन्दर ठाउँ पनि रहेछन्, अझ आफ्नै जिल्लामा भन्ने कुराले थप हर्षविभोर बनाएको थियो । बेलाबेला सुनेको तर पुग्न नपाएको रारा तालको कल्पनापनि मनभरि आइदियो । प्रकृतिको यो सुन्दर उपहार सिङ्जेमालाई परिक्रमा गर्दै हामीले मनमनै प्रकृतीप्रति कृतज्ञ भयौँ । यसपछि हाम्रो योजना अरु तीन ताल जाने थियो तर यसपटक भने मौसम अनुकुल भएन । जोखिम मोलेर जान नसकेपछि हामी केही निराश भएर फर्कियौँ ।यस्ता अनगिन्ती सुन्दर ठाउँ प्रचारको अभावमा ओझेल परेका छन् । म स्वयम त्यहि जिल्लाको नागरिक भएर पनि त्यहाँ पुग्न यत्रो बर्ष कुर्न पर्यो भन्ने पनि मनमनै सम्झिँदै हामी त्यहाँबाट फर्कियौँ । फर्किँदै गर्दा मनले भन्यो यो सुन्दरताको प्रचार मैले सकेजति गर्नुपर्छ । यस्तरी नै प्रचार हुँदै जाँदा विस्तारै विस्तारै त हो नि पर्यटक पुग्ने र प्रकृतीका यस्ता सुन्दर रचनाहरूको आस्वादन गर्ने । बरु तपाईँ पनि सुन्दर सिङ्जेमा ताल र ओलाङ्चुङगोला पुग्ने चाँजोपाँजो मिलाउने कि ?
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५८
प्रतिक्रिया दिनुहोस्