काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा
काठमाडौँ–काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश प्रहरीको समन्वयमा केन्द्र मातहतमा रहने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक माथि छलफल गर्दै संशोधन सहित पारित गरेको हो ।
बैठकमा उपत्यकाको सुरक्षाका सन्दर्भमा आएको संशोधन प्रस्तावमा प्रदेश प्रहरीसँगको समन्वय रहने गरी बुँदा थप गरेर पास गर्ने गरी सहमति भएको हो । संशोधनका लागि ल्याइएको विधेयकको दफा १० मा उपत्यकामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै अध्यागमनसम्बन्धी कसुरको अनुसन्धान नेपाल प्रहरीले नै अनुसन्धान गर्ने कुरालाई यथावत राखिएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले गम्भीरतापूर्वक नै उपत्यकाको दायित्व निर्वाह गर्नुपर्ने भएकाले नै उक्त संशोधन ल्याइएको बताए । उहाँले संशोधनलाई पूर्ववर्ती सरकारले अघि बढाएको र अहिलेको सरकारले समेत निरन्तरता दिएको जानकारी दिनुभयो । अहिले उक्त व्यवस्था अध्यादेशको रुपमा कार्यान्वयनमा रहेको मन्त्री खाँणको भनाई छ ।
यसअघि छलफलमा माओवादीका सांसदहरुले राजधानीको सुरक्षाका बिषयमा प्रदेश प्रहरीको अधिकार कटौति हुन नहुने बताएका थिए भने एमाले र कांग्रेसका सांसदहरुले उपत्यकाको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नै गर्नुपर्ने गरी ल्याइएको संशोधनप्रति समर्थन जनाएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:३५
प्रतिक्रिया दिनुहोस्