Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाजुराको बुढीगंगा नगरपालिकाको मतदान सम्पन्न

शुक्रबार, मंसिर ९, २०७९
बाजुरा– कडा सुरक्षाकाबीच बाजुराको बुढीगंगा नगरपालिकाको मतदान सम्पन्न भएको छ । बिहान ७ः०० बजेबाट सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो । बुढिगंगामा रहेका १० वटै वडाका १० मतदान स्थल तथा १९ मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । बुढीगंगामा कुल मतदाता सङ्ख्या १३ हजार ६ सय ५९ रहेकोमा ९ हजार १ सय १७ अर्थात् ६७ दशमलव ७५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ । मतगणना आजै रातिबाट सुरु हुने निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए। मतदान प्रक्रिया छिटपुट घटना बाहेक सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए । उनका अनुसार त्रिशक्ति मावि मतदान स्थलमा सामान्य झडप भएको थियो झडपमा एकीकृत समाजवादीबाट वडा अध्यक्षका उम्मेदवार भरत थापा र स्थानीय मतदाता सीता थापाको टाउकोमा चोट लागेको र झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो । निर्वाचनमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि बुढिगंगामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। बुढीगंगाको प्रमुखमा नेकपा एमालेका तर्फबाट रामबहादुर बानिया र नेपाली काँग्रेसका तर्फबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३९
प्रतिक्रिया दिनुहोस्